काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति मधेसवादी दलले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूले नागरिकता विधेयक अविलम्ब पारित गर्नुपर्ने मागसमेत गरेका छन् । मधेसवादी दलका नेताले मधेसका कतिपय जिल्लामा राष्ट्रपति भण्डारीको पुतला दहन गर्दै विरोध गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सहितका दलले राष्ट्रपति भण्डारीको कदमको विरोध गर्दै अविलम्ब पारित गराउन सरकारसँग माग गरेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले सोमबार विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गर्दा झन् बढी जटिलता आउने खतरा औंल्याएका छन् । नागरिकता अभावमा लाखौं नेपाली नागरिक राज्यविहीनताको अवस्थामा पुग्ने उनले जनाएका छन् ।

राष्ट्रपतिको कदमबाट मधेसलगायत देशका विभिन्न भागमा रहेका नागरिक चिन्तित र निराश भएको जनाउँदै ठाकुरले नागरिकता समस्या समयमै समाधान नभए असन्तुष्टि बढ्दै जाने र त्यसले समस्या थपिँदै जाने उल्लेख गरेका छन् ।

जसपा कार्यकारिणी समिति सदस्य रामसहाय यादवले नागरिकता समस्या छिट्टै समाधान हुने बताएका छन् । सत्तारूढ दलका नेतासमेत रहेका पूर्वमन्त्री यादवले सत्तारूढ दलबीच छलफल भइरहेको बताउँदै छिट्टै नागरिकता समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपतिको कदमले विभेदी मानसिकतालाई दुरुत्साहित र देशको जनता–जनताबीच एकताको डोरी कमजोर बनाउने काम भएको बताएका छन् । जनताको नागरिकतासम्बन्धी नैसर्गिक हकमाथि बरोबर हुँदै आएका यस्ता दुर्भावनापूर्ण खेलप्रति तमलोपाले विरोध व्यक्त गरेको छ ।

‘संविधानअनुसार प्रमाणीकरणको हद अवधिसम्म थन्क्याएर राखी गरिएको यो कारबाही नागरिक भएर पनि नागरिकता प्रमाणपत्र आभावमा नागरिक अधिकारको उपभोग गर्न नपाएकाप्रति संवेदनहीनताको स्पष्ट उदाहरण हो,’ तमलोपा अध्यक्ष लालले भने ।राजधानी दैनिकबाट