काठमाडौं । अमेरिकामा बिहिबारको पहिरोमा परी ३ नेपालीको मृत्यु भएको छ । आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि बिहिबार आएको बाढीमा परी परिवारका ३ जना नेपालीसहित कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत घटना सार्वजनिक गरेको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बाढीमा परी मृत्यु भएको हो । उनीहरू अमेरिकाको न्युयोर्कमा बस्दै आएका थिए ।

न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो ।

अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए । ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन् । थुप्रै संख्यामा कारहरू बगेका छन् । डुबेका छन् ।
न्युयोर्क सहरमा सबवे बन्द गरिएको छ । दर्जनौं उडान स्थगित भएका छन् । बिजुली अवरूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अस्तव्यस्त भएको छ ।

तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो । उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो ।