सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–१ धरिनडाँडा दुम्जालाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को पुर्ख्यौली थलो दुम्जामा १ सय ७८ रोपनी क्षेत्रफलमा ५० करोड रुपैयाँको लागतमा ‘बीपी स्मृति पार्क’ निर्माण गरेर उक्त क्षेत्रलाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको हो।

बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको जन्मघर तथा युवा उमेर बिताएको धरिनडाँडाको १ सय ७८ रोपनी क्षेत्रफलमा गुरुयोजना बनाएर नेपाली राजनीतिक इतिहासका लागि ‘पोल्टिक्स टुरिजम’ को काम सुरु गरिएको सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद हरिबोल गजुरेलले बताए।

नेकपा माओवादीका नेतासमेत रहेका सांसद गजुरेलका अनुसार दुम्जालाई संघीय सरकारको नियमित बजेटमार्फत पोल्टिक्स टुरिजम क्षेत्रका रूपमा विकास गर्न लागिएको हो। धरिनडाँडा मकवानपुरका सेन  राजाबाट काजी दामोदर कोइरालाले खान्की बिर्ताका रूपमा पाएका थिए। ‘तिनै कोइराला परिवाकार बीपी, मातृका, गिरिजा र सुशील कोइराला नेपालको प्रधानमन्त्री भए। यो नेपाली राजनीतिको एउटा महत्वपूर्ण इतिहास हो। त्यसैले यस क्षेत्रलाई हामीले नेपाली राजनीतिको इतिहास अध्ययन अवलोकनलाई समेत सहयोग पुग्ने गरी बीपीको स्मृतिसहित ‘पोल्टिक्स टुरिजम’ को सुरु विकास गर्न लागिएको हो,’ उनले भने।

दुम्जाको धरिनडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयले यस अघिदेखिकै आवाज उठाउँदै आएका थिए। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला २०७४ सालमा पहिलो पटक बजेट विनियोजन गरिएको थियो। त्यसलगत्तै कोइराला परिवारका नेताहरू शशांक कोइराला, शेखर कोइरालालगायतले स्थलगत अध्ययन गरेपछि त्यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम थालिएको नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वलप्रसाद बरालको भनाइ छ।
बीपी स्मृति पार्कको काम सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले गत आर्थिक वर्ष २०७७÷०७८ बाट सुरु गरेको हो। गत वर्ष पार्क निर्माण स्थलमा ३ करोड ३४ लाख रुपैयाँ लागतमा सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको समेत पाँच लाख रुपैयाँ लागतमा बीपीका पिता कृष्णप्रसाद कोइरालाको जन्मघरको संरक्षणका लागि घेराबेरा गरिएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोराको भनाइ छ।

गुरुयोजनाअनुसार बीपी पार्कमा कृष्णप्रसाद कोइरालाको जन्मघरको संरक्षण, बीपी संग्रहालय, पुरानो पोखरीको संरक्षण, सभागृह, स्थानीय कला संस्कृतिको संग्रहालयका साथै पिकनिक स्पोर्टको विकास गरिने योजना रहेको छ,’ अध्यक्ष बोहोराले भनिन्। यस्तै, कृष्णप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका शालिक स्थापना गरिनेछ।

बीपी राजमार्गबाट करिब पाँच किलोमिटर दूरीमा पुगिने उक्त क्षेत्रमा नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका लिडरहरूको पहिचानसहितको पर्यटकीय क्षेत्रको विकास हुँदा स्थानीय नागरिकमा आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा टेवा पुग्ने अपेक्षा गरिएको उक्त वडाध्यक्ष विमलमान सिंह मोक्तानको भनाइ छ।

सरकारले सिन्धुलीको दुम्जामा बीपी स्मृति पार्क निर्माण गरेर नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्वको सम्मान गर्न लागेको स्थानीयको भनाइ छ। वि.सं. १९७१ भदौ २४ गते जन्मेका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो।अन्नपूर्ण पोस्ट बाट