नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको सङ्ख्या  ८६ लाख ७० हजार 

- चर्चित खबर सम्बाददाता

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०९:१६

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कागजमै सीमित रहँदै आएको छ । सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण गर्ने उद्देश्यले कानुन बनाइए पनि कार्यान्वयनको अभावमा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ भने सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण निम्तिने रोगबाट ग्रसित हुनेको संख्या पनि बढ्दो छ ।

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाउने गरी एक दशकअघि सरकारले कानुन बनाए पनि त्यसको अनुगमन तथा प्रभावकारी कार्यान्वयन हुन नसकेको हो ।

सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा १०० रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवै सजाय हुने भनेर सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ मा उल्लेख छ । तर उक्त प्रावधानविपरीत सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरु प्रशस्त देखिन्छन् भने उनीहरुमाथि कारवाहीका लागि प्रभावकारी संयन्त्रको विकाससमेत हुन सकेको छैन ।

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई हालसम्म उक्त ऐनअनुसार सम्बन्धित निकायले कारवाही भएको छैन । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्न नदिनका लागि भन्दै कानुन बनाइए पनि कार्यान्वयन पक्ष फितलो देखिएको हो ।

नियन्त्रण तथा नियमनको अभावमा उक्त ऐन प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजार जनाको मृत्यु हुनेगर्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि कर वृद्धि गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

सरकारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थबाट ३६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्दै आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट नसर्ने रोगहरुको जोखिम झन् बढ्दै गएको छ । मिर्गौला, मुटु, कलेजो, मधुमेह आदि नसर्ने रोगका बिरामी बढ्दै गइरहेको उनको भनाइ छ ।

सुर्तीजन्य पदार्थ प्रयोगका कारण निम्तिने रोगको उपचारका लागि वार्षिक ५० अर्बभन्दा बढी खर्च हुने गर्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार नेपालको कुल जनसंख्याको २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । करिब ८६ लाख ७० हजारले वार्षिक रुपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशतमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला छन् । स्रोत -रातोपाटी

Facebook Comments
  • मुख्य