एजेन्सी । चार पत्नीका पति टेलिभिजन स्टार मुसा मसेलेकु दक्षिण अफ्रिकी सरकारको बहुपति प्रथा लागू गर्ने प्रस्तावको विपक्षमा छन् । उनी मात्र होइन, सरकारको बहुपति प्रथा लागू गर्ने प्रस्तावप्रति रुढीवादी खेमा नै रुष्ट छ ।

‘यसले अफ्रिकी संस्कृतिलाई ध्वस्त पार्नेछ । तिनका सन्तानको के हुन्छ ? तिनले आफूलाई कसको सन्तान भनेर चिनाउँछन्,’ मसेलेकु भन्छन्, ‘महिलाले पुरुषको भूमिका लिन सक्दैनन् । यो सुन्दै नसुनेको कुरा हो । के महिलाहरुले अब पुरुषका लागि लोबोला (बेहुलीको मूल्य) तिर्छन् ? के पुरुषले अब महिलाको थर अपनाउँछन् ?’

बीबीसीका अनुसार मसेलेकु आफ्ना चार पत्नीसम्मिलित परिवारको विषयमा बनेको रियालिटी टीभी शोका स्टार हुन् । यस्तो तर्कबाट यस विषयका स्थापित विद्वान् प्राध्यापक कोलिस माचोको भने अचम्भित छैनन् । ‘अफ्रिकी समाज वास्तविक समानताको लागि अझै तयार भएको छैन । हामीले नियन्त्रण गर्न नसक्ने महिलालाई के गर्ने, हामीलाई थाहा छैन,’ उनी भन्छन् ।

प्राध्यापक माचोकोले आफू जन्मेको मुलुक जिम्बाबेमा बहुपति प्रथाबारे अध्ययन गरेका थिए । बहुपति प्रथाको अभ्यास गरेका २० महिला र ४५ पुरुषसँग उनले कुराकानी गरेका थिए । यद्यपि जिम्बाबेमा यस्तो विवाह समाजिक रुपमा निषिद्ध छ भने कानुनले पनि मान्यता दिएको छैन । ‘समाजले बहुपति प्रथालाई परित्याग गरेको छ । त्यसैले यो भूमिगत अवस्थामा छ,’ माचोकोले भने, ‘नचिनेको र विश्वास नगरेको मान्छेलाई त उनीहरु यस्तो विवाहको अस्तित्व छ समेत भन्दैनन्। समाजले प्रतिशोध साँध्ने वा कानुनी कारबाही हुने डर उनीहरुलाई छ ।’

माचाकोको अध्ययनमा सहभागीहरू अलगअलग बसे पनि बहुपति प्रथाको अभ्यासमा सहभागी थिए । ‘एक महिलाले ६ कक्षामा पढ्दैदेखि धेरै जना पति राख्ने चाहना गरेकी थिइन्। वयष्क भएपछि उनी धेरै जना पार्टनरसँग शारीरिक सम्बन्ध राख्न थालिन् । उनका ती पार्टनरहरुलाई एकअर्काबारे जानकारी थियो । अहिले उनका नौ पति छन् । तीमध्ये चार जना सुरुमा उनले बनाएका ब्वाइफ्रेन्ड थिए,’ प्राध्यापक माचाकोले भने।

बहुपति प्रथामा सम्बन्धको पहल प्रायः महिलाले लिन्छन् र पुरुषलाई आफ्ना पतिहरुको समूहमा सामेल हुन निम्त्याउँछन् । ती पुरुषमध्ये केहीले बेहुलीको मूल्य तिर्छन्, केहीले भने महिलाको जीवन निर्वाहमा सघाउँछन् । कुन चाहिँ पतिलाई हटाउने भन्ने शक्ति महिलामा हुन्छ ।

यसको प्रमुख कारण प्रेम भएको उनीहरुले बताएको प्राध्यापक माचोको बताउँछन् । केही पुरुषहरुले भने आफूले पत्नीलाई शारीरिक रूपले सन्तुष्ट राख्न नसक्ने हुनाले सम्बन्धविच्छेद नहोस् भनेर सह–पति बन्न स्वीकार गरेको बताएका थिए ।

यसको अर्को कारण निसन्तान हुनु पनि हो । कतिपय पुरुषहरूले आफ्नी पत्नीलाई सन्तान जन्माउनकै लागि अर्को पति राख्ने अनुमति पनि दिएका हुन्छन् । यसरी समाजले ‘नामर्द’ भन्ने भयबाट उनीहरू मुक्त हुन्छन् ।

लैंगिक समानता र रोजाइको अधिकार सुनिश्चित गर्न यो व्यवस्था ल्याउन अधिकारकर्मीहरुले सरकारलाई आग्रह गरेका छन् । किनभने अहिलेको कानुनले पुरुषलाई भने एकभन्दा बढी पत्नी राख्ने अनुमति दिएको छ ।

‘समाजमा विद्यमान पितृसत्तात्मक सोचलाई चुनौती दियो भन्दैमा हामी कानुन सुधारलाई अस्वीकार गर्न सक्दैनौँ,’ महिला अधिकारकर्मी सार्लिन मे भन्छिन् । यस्तो प्रस्तावको क्रिस्चियन धर्मगुरुहरुले भने विरोध गरेका छन् । ‘यस्तो समय आउनेछ– जुनबेला एउटा चाहिँ पतिले पत्नीलाई भन्नेछ, ‘तँ फलानासँग बढी समय बिताउँछेस्, मसँग किन नाइँ ? त्यसपछि दुई पुरुषबीच द्वन्द्व हुनेछ,’ अफ्रिकन क्रिस्चियन डेमोक्रेटिक पार्टीका नेता तथा पादरी केनेथ मेसो भन्छन् ।

इस्लामिक अल जमा पार्टीका गनिफ हेन्ड्रिक्सले चाहिँ यति मात्रै भने– ‘बच्चा जन्मेपछि बाउ को हो भनेर छुट्याउन धेरैभन्दा धेरै डीएनए परीक्षण गर्नुपर्ने हुन्छ ।’

टीभी स्टार मसेलेकु भने समानताको सिद्धान्तलाई ज्यादा नतन्काउन आग्रह गर्छन्। ‘संविधानमा लेख्दैमा त्यसले हाम्रो भलो नै गर्छ भन्ने छैन,’ उनी भन्छन् ।

उनले चाहिँ चार पत्नी राख्न मिल्ने, महिलाले चाहिँ किन नमिल्ने ? यो प्रश्नमा उनले भने– ‘किनभने यो गैरअफ्रिकी काम हो । हामी जो हौँ, त्यसलाई बदल्न सक्दैनौँ ।’

तर, प्राध्यापक माचोको भने बहुपति प्रथा कुनै समय केन्या, कंगो र नाइजेरियामा प्रचलनमा रहेको बताउँछन् । गाबोनमा यो चलन अझै छ र त्यसलाई कानुनले पनि मान्यता दिएको छ । ‘क्रिस्चियन धर्म र उपनिवेश आएसँगै महिलाको भूमिका खुम्चिँदै गयो । अहिले उनीहरु समान छैनन् । यो असमानतालाई स्थापित राख्ने एउटा औजार बनेको छ विवाह,’ उनले थपे ।

उनी बहुपति प्रथामा जन्मेका बच्चा कसको सन्तान हुने भन्ने चिन्ता पितृसत्ताको उपज भएको तर्क गर्छन् । ‘बच्चाको प्रश्न त सजिलो विषय हो। यस्तो सम्बन्धबाट जेजति बच्चा जन्मिन्छन्, ती सबै परिवारको सन्तान हुन्छन्,’ उनी भन्छन् ।