आज बिहानै लेखिका सुस्मा न्यौपानेको एउटा फेसबुक स्टाटसले मेरो ध्यान तान्यो ।उहाँले लेख्नु भएको थियोे –
`जातीय विभेद हटाउन, सबै मान्छेले मान्छेलाई, मान्छे हो भनेर मानिदिए र मान्छेलाईझै व्यवहार गरिदिए धेरै हदसम्म हुन्छ । यहाँ त जसले अर्कोलाई अाफु जस्तै मान्छे स्विकार्न सक्दैन फेरि उसैले अाफुलाई चाहि सभ्य र सचेत मानिस ठान्छ । जातियताकाे सवालमा बाेल्दा र लेख्दा शब्द संयाेजन गरेर बाेले र लेखे जस्तै व्यवहारमा चाहिँ रत्तिभर परिवर्तन हुन नसकेका पढेलेखेका, बुद्धिजीवी र सचेतहरुबाटै यो समस्या बाकी रहेको हो । शब्द मात्रै होइन व्यवहारमै छुवाछूत र विभेद हटाअौँ । मान्छे भएर बाचौँ र बाच्न दिउँ । ´
उहाँको यो भनाइमा म पुर्णतः सहमत छु । जातीय छुवाछूत मुलतः हिन्दु समाजको निर्माण गरेको बिकृती हो । हिन्दु समाजमा एकजना ऋषि थिए मनु । उनले जातीय छुवाछूतलाई शास्त्रीय रूपमा ब्याख्या गरिदिए । हुन वेदमा पनि जातको बारे उल्लेख छ । वेदले पैतालामा दलित राखिदिएको छ। पैतालामा रहनु अर्थ पिधमा भनेको हो । मनुले निर्मम रूपमा मानिसको जातलाइ पूर्वीय सभ्यतामा बिभेदकारी संरचनाको रूपमा उभ्याइदिए । छुवाछूतलाई स्थान दिए । नेपालको मुलुकी ऎनले दलितहरु नागरिक समेत देखेनन ।
बौद्धकालीन समयमा हिन्दुहरुले निर्माण गरेको जातीय समाजको बिगबिगी थिए । बुद्धले त्यसलाई परास्त गर्न भुमिका खेल्नु भो । बुद्धका कतिपय अग्र श्राविकाहरु दलित समुदायका थिए । उहाँले ज्ञान र विवेकको आधारमा मुल्यांकन गर्नुभयो । उहाँले कर्ममा जोड दिनुभयो । कर्मले जोकोही पनि ब्राह्मण हुन सक्ने बुद्धको जोड थियोे । ब्राह्मण भनेको अहिले श्राद्धे गर्ने वा रुद्री लगाउने ब्राह्मण भनेको होइन । ब्राह्मण त प्रज्ञाको अभ्यास गर्न सक्ने शास्त्रीय रूपमा जीवन बाचिरहेको माहात्मालाई भनिएको हो । बुद्ध समाजमा जातको कुनै गुन्जायस नभएकोले यहाँ उच्च र निच जात भन्ने हुँदैन।
भारतीय बिद्धानहरु सिन्धुघाँटी सभ्यताका क्षेत्रीहरु लखेटिएपछी ती दलित भए कि भन्ने तर्क राख्छन् । तर दलितिकरण एकैकिसिमले मात्र भएन ।अनेकौं कारणले मानिसलाई पानी घटुवा गरियो ।
लामो समयमा उत्पीडित रहेका दलित समुदाय आर्य समुदायभन्दा भिन्न छैनन । यसैले भन्न सकिन्छ आर्य समाजले मात्र छुवाछूतको प्रथा बनायो । त्यो प्रथा अन्य समुदायमा पनि फैलियो ।
नेपालको कानुनले जातीय छुवाछूतलाई अपराधको रूपमा ब्याख्या गरेको छ । तर छुवाछूतको घटनाहरु बढिरहेका छ्न ।ज्यानै जानेगरी कयौं घटना घटिरहेका छ्न । पोहोर साल मात्र रुकुम एउटा हत्याकाण्ड भयो त्यसले राष्ट्रिय रूपमा आम मानिसको मन रुवायो ।
एउटा गीत छ –
रुमाल धोको छु
यो खोलीको पानी कोही नखानु
मैले छोको छु
यस्ता विरहका गीत गाउदै दलित समुदायले आफ्नु अन्तरनिहित भावना पोख्दै आयो । नेपालको दलित आन्दोलन प्रतिरोधी चेतनाको बाटो भन्दा रक्षात्मक बाटोमा हिडयो । दलितहरुले आफू उत्पीडनमा परेको गुनासो मात्रै गर्दै आए । उनीहरूले उतिसारो बिद्रोह गरेनन । जसको कारण जातीय छुवाछूत गर्नेहरूले मुन्टो उठाए ।
सुस्मा न्यौपानेले भने जस्तै बुद्धिजीवी , पढेलेखेका र जान्ने सुन्नेहरुबाटै छुवाछूतलाई हटाउन सकिएको छैन । समाजको अग्रगामी चेतनाले लैस भनिएको तप्का समेत कतै न कतै छुवाछूतको चेतना बोकेर हिडेकै हुन्छ । यतिसम्म कि बोक्सी भनिने धेरै महिलाहरु दलित समुदाय हुने गरेको छ । बोक्सी मारिएका महिलाहरु तथ्यांक हामीले हेर्न सक्छौ ।
आफूलाई अग्रगामी भन्ने तर मानिसको जातलाइ हेरेर मुल्यांकन गर्ने कतिपय राजनीतिकर्मीहरु समाज रुपान्तरण गरेर समाज ल्याउने गफ पनि जोतिरहेकै छ । कमरेडहरु म सोध्न तपाईंले भनेको समाजवाद कुन जातको हो ? हेपिने जातको कि हेप्ने जातको , उत्पीडित जातको उत्पीडकको जातको?
मानिसहरु भन्छन् चेतना नपुगेर छुवाछूत भयो । यो कदापि होइन । काठमाडौतिर डिग्री पास गरेको घरपेटी सोध्छ हजुर कुन जातको ? ती घरपेटीलाइ अशिक्षित त भन्न मिलेनन कि । यसो चाहिँ भनौं हिन्दु जात ब्यबस्थाले हामीलाई जात हालिदिएको छ ।