एजेन्सी । अमेरिकी राष्ट्रपति जोड बाइडेनले कोरोनाको उद्गमस्थलबारे तीव्र छानविन गरेर  ९० दिनभित्र रिपोर्ट पेश गर्न गुप्तचर निकायहरुलाई निर्देशन दिएका छन् । यसअघि चीनको उहान इन्स्टिच्युट अफ भिरोलोजीमा कार्यरत धेरै अनुसन्धानकर्ताहरु नोभेम्बर २०१९ मा बिरामी भएको तथ्य अमेरिकी गुप्तचरहरूले फेला पारेको थियो । त्यसयता, भाइरसको उद्‍गमबारे अझै गहिरोसँग अध्ययन गर्नका लागि बाइडेन प्रशासनमाथि जनदबाब परिरहेको छ ।

यो भाइरस जनावरबाट फैलियो वा प्रयोगशालाबाट भन्ने विषयमा पनि स्पष्ट जाँच गर्न उनले गुप्तचर निकायहरूलाई निर्देशन दिएका छन् ।

बाइडेनले यस छानवीनमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । ‘अमेरिकाले विश्वभरका ती देशहरुसँग सहयोग जारी राख्नेछ, जसले भाइरसको छानविन सही ढंगले गर्न चाहेका छन् । यसबाट चीनमाथि पारदर्शी हुन र अन्तर्राष्ट्रिय जाँचमा सहभागी हुनका लागि दबाब पर्नेछ ।’

यसअघि अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) सँग कोरोनाको उत्पतिबारे छानविन अघि बढाउन माग गरेका थिए ।

डाक्टर फाउचीले भाइरसका बारेमा अहिलेसम्म शतप्रतिशत थाहा नभएका कारण जाँच जरुरी रहेको बताएका थिए । कोभिड रेस्पोन्सका लागि ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार एन्डी स्लाविटले वास्तविकता बाहिर ल्याउनका लागि डब्ल्युएचओको सहयोग आवश्यक रहेको बताएका थिए ।