-सपना कुँवर

बिहान तीन बजे उठेर खाना बनाएर टिफिनमा प्याक गरे । हतार हतार कपडा लगाएर बाहिर निस्किए । बाहिर निस्किएको केही मिनेटमा नै बस आयो । मलाई समयमा कम्पनी पुग्नु थियो । पाँच बजिसकेको थियो ।
कम्पनीमा पुगेर चिरपरिचित कामदारहरुसँगै काम गर्न थाले । काममा बिस्तारै तल्लीन हुन थाले । घाम चर्को लागिरहेको थियो । बिहानै पकाएर लगेको खाना गनाउन थालेको थियो । कामको चाप झन बढिरहेको थियो । मलाई घरको दयनीय अबस्थाको याद आइरहेको थियो ।
`महङ्गी वढिरहेको छ , काँही कतैबाट पैसा आइरहेको छैन ,साहुँ कराउँछन , आमा रोइरहनु हुन्छ ।´ फोनमा बैनीले रुदै भनेको याद आइरहेको थियो । आमाको पनि खुव याद आएको थियो ।
खानामा हस्को आइसकेको थियो ।गनाउन थालेको खाना पनि आफ्नो विवशता सम्झेर मिठो मानेर खाए । कामबाट केही मिनेटको छुटी मिल्यो । आमाले मेसेन्जरमा कल गर्नु भएको रहेछ । मैले फोन फर्काए र आमासँग बोल्न थाले ।
`आमा नमस्कार !´
`भाग्यमानी हुनु छोरी ।´
` सन्चै हुनुहुन्छ आमा ? ´
`मत ठिक छु तर तेरो बहिनी बिरामी छे पैसा पनि छैन। लौ न छोरी केही गरिदे , तेरै बैनी हो क्यारे ।´
` तपाईं पिर नगर्नुस आमा शहर लगेर उपचार गराउनु । भोलि तलब आउँछ आइएमी गरिदिन्छु ।´

आमाले फोन राख्नु भयो । मैले आमालाई ढाटेको थिए । मेरो तलब आउन अझै एक हप्ता बाँकी थियो । साथीसगँ मागेर केही रकम पठाए । आमाले बैनीलाइ शहरमा लगेर उपचार गराउनु भो ।
म प्रायः सत्र घन्टा काम हुन्थे । कामको थकानले थकित हुन्थे । घरको यादले बेस्सरी छाती पोलेको अनुभव हुन्थ्यो । गाउँघर मेलापातको याद आउथियो । साथी सङ्गीको याद नआउने कुरै भएन ।
दिनहरु बितिरहेका थिए । एकदिन मिल्ने साथीले फोन गरि । सन्चो बिसन्चो सोधेपछि उ पनि भन्न थाली -` अरे तिमी त बिदेश गएपछि पुरै परिवर्तन भएछौँ । पैसा कमाए पछि यस्तै हो ,सबै फेरिन्छन , तिमी पनि फेरिएछौं । ´ उसको कुराले मन चसक्क दुख्यो । म केही बोल्न सकिन ।
मलाई भन्न मन थियो । यार म कसरी ठुली भए ? मैले कसरी पैसा कमाए? सत्र घन्टा काममा गोरुले झै जोतिनुपर्छ भने म कसरी परिवर्तन भए ? घामको रापले सेकिएको गन्हाएको खाएर बाचेको छु भने म कसरी फेरिए ? तर केही भन्न सकिन । अर्कोपटक फोन गर्छु गाह्रो भएको छ भन्दै फोन कट गरे । सायद उ रिसाइ होला ।
भोक लागिरहेको थियो । आफन्त अनुहार सम्झ्दै गर्दा भुसुक्क निदाएछु । ब्युझदा भोलिपल्टका लागी खाना बनाउने बेला भइसकेछ । खाना बनाउन थाले । कम्पनी पुग्न ढिला हुन्छ कि भनेर सुर्ता लाग्न थाल्यो । दिउँसो अब कुन आफन्त यसैगरी फोन गर्लान् भने जस्तो पनि लागिरहयो।