मुक्तक १
जसले हरबखत छुरा लिएर आउँछ जहर लिएर आउँछ
मरेपछि उही मान्छे माला अनि पीताम्बर लिएर आउँछ
यो दुनियाँ यस्तै हो महोदय कहिल्यै पनि बुझ्न नसकिने
जब काया भस्म बन्छ अनि दानमा मफलर लिएर आउँछ

मुक्तक २
नउदाउँदै सूर्य साहुको बारीतिर ज्यालामा हिडनुपर्छ
लिएर खाली पाउ खिएको पैतालामा हिड्नुपर्छ
खेल्ने पढ्ने लेख्ने अधिकार खै कहाँ छ र हाम्रो
पढ्न स्कुल होइन जङ्गल गोठालामा हिड्नुपर्छ

मुक्तक ३
उठ्नेछु खुट्टा भाँचिए नि हजारौं ठक्कर दिनुस्
तर बा आमालाई कुशल छ भनी खबर दिनुस्
महामूर्ख कालिदास विद्वान कवि बनेका थिए
मेरो चन्द्र छुने लक्ष्य छ , छुन्छु कि अवसर दिनुस्

मुक्तक ४
ताल छैन आँखामा तर आँखाबाट जल आउँछ
भुल्न खोज्छु उसका यादहरू हरपल आउँछ
अचेल अत्तोपत्तो छैन उसले त बिर्सिएछ क्यारे
न सन्देश आउँछ न त फोन/ मिसकल आउँछ

मुक्तक ५
थाहै नदिई हुने दुई मुटुको मेल रहेछ माया
जिन्दगीकै बाजी राख्ने खेल रहेछ माया
एकपललाई मुस्कुराहट अोठमा देखिए पनि
सधैं-सधैंका लागि आँसुको भेल रहेछ माया