काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ ।

काठमाडौंको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

आजको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । नेपालविरुद्ध खेल्न लागेको यूएईका लागि भने आजको खेल एक प्रतिष्ठाको लडाइँ मात्र रहेको छ । लिगको छैठौं स्थानमा रहेको यूएईको ३५ खेलमा ३३ अंक रहेको छ । यसअघि लिग अन्तर्गत २८ फागुनमा भएको खेलमा यूएई नेपालसँग १७७ रनले पराजित भएको थियो ।

जितका लागि २४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाएर अलआउट बनेको थियो । युएईमाथिकै जितमा नेपालले एकदिवसीय मान्यता जोगाएको थियो । आजको खेलमा नेपाललाई हराउँदै सिधै विश्वकप छनोटमा जान रोक्ने तयारीका साथ यूएई मैदानमा उत्रनेछ ।

यता नेपालले यूएईलाई हराउँदै जित हात पारे लिग २ को शीर्ष तीनमा स्थान बनाउँदै सिधै जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । तर यूएईविरुद्धको खेल हारे नामिबियाले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ । यसकारण नेपालका लागि आजको खेल महत्त्वपूर्ण र जित्नै पर्ने दबाब रहेको छ ।