सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए ।
उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् । अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७  विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ ।
यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श्रेष्ठको भनाइ छ । चिसो बढेसँगै सो क्षेत्रको तापक्रमसमेत घटेर माइनस १० डिग्रीसेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।रासस