हेटौंडा बसपार्कबाट नजिकै पर्छ संगीतकार प्रवेन्द्र महर्जनको घर । गीतकार सुर्य कुमार घिसिङले उनकोबारे केहि लेखिदिनुस भनेपछि उनको घरमा पुग्छ हाम्रो टिम । उनी आफ्नु जीवनको आरोह अवरोहलाई यसरी सुनाउछन् –
मेरो जन्म काठमाडौंको किर्तिपुरमा भएको हो । गाउँको नाउँ पाँगा हो। म २०१३ साल साउन १५गते त्यहीँ जन्मेको हुँ । हाम्रो परिवार किर्तिपुरबाट हेटौंडामा आएपछि मेरो बाल्यकाल हेटौंडा नगरीबाट बित्यो । २०३१ सालमा मैले s.l.c . दिए । विद्यार्थी जीवनमा नै मलाई संगीतमा लत बसिसकेको थियोे ।
म संगीतको पारखी बनिसकेको थिए । २०२६ सालदेखि निरन्तर संगीत क्षेत्रमा छु ।
हेटौंडाको भुमिदेवी हाइस्कुलको खुल्लामञ्चमा दिपेन्द्र शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा भएको सांगीतिक / सांस्कृतिक कार्यक्रममा मैले आफ्नै संगीतमा गीत प्रस्तुत गरेको थिए । कार्यक्रमको आयोजना त्यतिबेलाको नव युवा क्लबले गरेको थियोे ।
मैले भुटनदेवी हाइस्कुलमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा पनि म भाग लिदै आए । त्यतिबेला साथी र अग्रजहरूबाट हौसला र प्रेरणा पाइरहे । मलाई संगीतमा उत्साह जागिरहयो ।
मेरो आफ्नै घरमा पनि सांगीतिक वातावरण थियोे । नव कला कुन्ज नामक संस्था पनि मेरै घरमा थियोे । संस्थाले गर्ने सांगीतिक प्रस्तुतिको माहोल ममा सांगीतिक भावना जाग्दै गएको थियोे ।
मेरो माता नानीमैया महर्जनको शास्त्रीय संगीतप्रती झुकाव थियोे । मैले पुजनीय माताश्रीबाट पनि धेरै नै प्रेरणा र हौसला पाए । उहाँले नै मलाई संगीतकार बन्न लागी बाटो खोल्नु भएको हो ।
मेरो पहिलो कम्पोज गीत ` हे दुर गगनका ताराहरु ´ हुन । यो गीत पुराना गीतकार नरहरीनन्द खरेलले लेख्नुभएको हो ।उहाँ हेटौंडाको पुराना गीतकार हुनुहुन्थ्यो । असाध्यै रसिला गीत लेख्न उहाँ माहिर हुनुहुन्थ्यो ।
मेरो पहिलो एल्बम चाहिँ २०५६मा मात्र आयो । यसमा मेरो एकल सांगितिक प्रस्तुति रहेको थियोे । एल्बमको नाम अभिलाषा राखेको थिए ।
मलाई जीवनमा धेरै जनाले प्रोत्साहित गर्नुभयो ।जस्तो उस्ताद भोला जोशीबाट सांगीतिक ज्ञान हासिल गर्न सहयोग पुग्यो । उहाँ जस्ता धेरै मानिसहरूको सहयोगबाट मेरो ब्यक्तित्व बनेको छ ।
स्थानीय तथा राष्ट्रिय स्तरका सांगीतिक ब्यक्तीत्वहरु भिम बिराग , उस्ताद भोला जोशी , शुक्रराज शाक्य , सुर्य कुमार घिसिङ , नारायण नकर्मी , शम्भुप्रसाद बास्कोटा , तुल्सी थापा लगायत धेरै सांगीतिक मानिसहरूसँग काम गर्न पाउँदा खुशी लागेको छ ।
अहिलेसम्म मेरो संगीतमा २५० भन्दा धेरै गीत कम्पोज गरिसके छु । शब्द लेख्नु अगाडि म धुन बनाउथे । पछि शब्द हाल्दा गीतकारहरु छक्क पर्थे ।
मैले घरमा स्थानीय र राष्ट्रिय स्तरका धेरै कलाकारको तस्वीर घरमा राखेको छु । यो मेरो कलाप्रतिको सम्मान हो । तर कलाकारहरुमा समस्या देखेको छ । एउटा शब्द प्रयोग नगरे पनि हुन्थ्यो । कलाकारमा गुरुद्रोही चरीत्र देखेको छु । गुरुहरुलाई सम्मान नगर्ने कलाकार पनि छ्न ।कलाप्रतीको गहिरो बुझाइको कमी छ नयाँ कलाकारमा ।
मैले पछिल्लो समय रेकर्डिङको काम सुर्य कुमार घिसिङसँगको सहकार्यमा गरेको हुँ । यो समय मैले आधा दर्जन गीतमा काम गरेको छु। धेरै खुसी लागेको छ । पुराना संगीतकार बिक्रम थापासँग पनि सांगीतिक भेटघाट हुन पायो ।
मैले ३०४५ सालदेखि नै कलाकारहरुलाइ निशुल्क प्रशिक्षण गर्दै आएको छु । प्रेरणा दिएको छु । नयाँ कलाकारलाई माया गरेको छु ।
यहाँहरुलाइ म मेरो आवद्धता रहेकोे संस्थाहरुकोबारे छोटोकरीमा भन्छु ।

मेरो संग्लनता रहेको संस्थाहरुको नाम निम्न हुन ।
-पिएम सेन्टर संचालक / संस्थापक
– क्षेत्रीय संयोजक – नेपाल मानव धर्म सेवा समिति
– सहसचिव – सितु बचत तथा रिन सहकारी संस्था
– संस्थापक सदस्य – निसाहय स्वास्थ उपचार केन्द्र
संस्थापक अध्यक्ष – हरिकिर्तन सेवा समिति
संस्थापक अध्यक्ष – मकवानपुर सांस्कृतिक कला केन्द्र
संस्थापक अध्यक्ष – मुर्छना संगीत समुह
संस्थापक सदस्य – भिम बिराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल
संगीत निर्देशक -भानु कला केन्द्र बिराटनगर
संस्थापक संयोजक – नेवा सांस्कृतिक पुच
संयोजक अध्यक्ष -संगीत समाज मकवानपुर
यसको अलवा ५० जना भन्दा गीतकारसँग काम गरेको छु । सांस्कृतिक भ्रमण पनि गरेको छु । भानु कला केन्द्र बिराटनगरमा संगीत निर्देशकको रूपमा चार बर्ष काम गरेको छु । नौ अञ्चलका जिल्ला हुँदै दार्जिलिङ दिल्ली, चण्डीगढ, पटना लगायत भारतीय शहरमा भ्रमण गरेको छु ।
आधुनिक , भक्ति , सुगम संगीतको अलवा लोक संगीतमा उतिकै काम गरेको छु ।
मेरो पत्रकारितामा लामो योगदान रहेको छ । साप्ताहिक अप्रेसन, उत्थान , दिनारम्भ , हिमाली हुलाक , अक्षर , नारायणी , पञ्चपत्र , स्वदेश , दिपिका , लगायत दर्जनौं पत्र पत्रीकामा संवाददाता / प्रतिनिधि भएर काम गरेको छु ।

समाजका अनेकौं क्षेत्रमा काम गरेको छु । यसमा हिनता होइन गौरव छ ।