पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संरक्रमणबाट बच्न अहिले सरकारदेखि गाउँतहसम्मले सतर्कता अपनाइरहेका छन् । लमजुङको होमस्टे गाउँ घलेगाउँले कोरोना संक्रमणबाट बच्न र सावधानी अपनाउन सतकर्ताको नयाँ तरिका अपनाएको छ ।

घलेगाउँले गाउँमा पर्यटक आउन प्रतिबन्ध लगाएको छ तर यदि कसैले गाउँ आएका पर्यटकलाई बास दिएमा पनि जरिवाना गरिने भएको छ । घलेगाउँमा अब कुनै घरले पर्यटकलाई बास दिए ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको हो ।

क्व्होँलासोँथर गाउँपालिकाको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज मानिने घलेगाउँ होमस्टेमा पर्यटन व्यवस्थापन समितिले यस्तो नियम राखेको छ ।

पर्यटक प्रतिबन्धित अवस्थामा कसैले पर्यटक राखे २० देखि ५० हजार रुपैयाँसम्म जरिवना समितिले सतर्कताको नियम बनाएको गाउँपालिका अध्यक्ष तथा पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले जानकारी दिए ।

यो नियम वैशाख १ गतेसम्मका लागि तोकिएको छ । लकडाउनका बेला पनि ग्रामीण क्षेत्रबाट पर्यटक मोटरसाइकल लिएर जान थालेपछि यस्तो नियम बनाइएको अध्यक्ष घलेको भनाइ छ ।