काठमाडौं ।कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ ।

चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् ।

सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने घोषणा गरिसकेको छ ।

उपत्यकाको सडकमा खचाखच हुने सवारी साधन गुड्न छाडेका छन् । मन्दिरमा भीड हुन छाडेको छ । सबै सार्वजनिकस्थलमा सुनसान छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन गरिएको बताएका छन् । दाहालका अनुसार प्रहरीको विशेष टोलीले आजबाट अनुगमनलाई तीव्रत दिनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।