विराटनगर ।भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने र प्रदेश १ ले ५ लाख पर्यटक भित्राउने लक्ष्य राखी विभिन्न कार्यक्रमहरु सन्चालन गरिएपनि पर्यटन पूर्वाधारका रुपमा रहेको जलयातायातमा निरासा देखिएको छ । जल यातायातका लागि पछिल्लो समय चर्चित बन्दै गएको सप्तकोशी नदीमा संचालित पानी जहाजहरु सुरक्षाको कारण देखाउदै बन्द भएका छन ।

सप्तकोशीका पानीजहाज संचालन भएयता त्यहाँ ठूलो सख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु जलविहार गर्नका लागि पुग्ने गरेका थिए । जल यातायात व्यवसायी महासंघमा आबद्ध भएर सुनसरीको चतराबाट भोजपुरसम्म संचालन हुँदै आएका विभिन्न ७ वटा पानी जहाजहरु सुरक्षाको कारण देखाउदै बन्द गरिएका हुन ।

महासंघले विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराएको हुन। महासंघका सदस्य राजेन्द्र कार्कीले स्थानीयको अवरोधका कारण संचालनमा समस्या उत्पन्न भएपछि सहिदभूमिको त्रिवेणीमा पानी जहाजहरु रोकिएको बताउनुभयो ।

उहाँले स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग राख्न थालेपछि बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो । सो ठाँउमा बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टस प्रालिले सात वटा पानीजहाज सञ्चालन गर्दै आएका छन ।

सप्तकोसीमा दुई वर्षअघि पानी जहाज परीक्षण गरी सञ्चालनमा आएको थियो । एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेको थियो । सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सात वटा पानीजहाज चल्दै आएका छन् । चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानीजहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो भने पर्यटकलाई समेत सहज भएको थियो ।

तराई झर्ने र पहाडतर्फ जानेहरू हिँडेर जाँदा निकै लामो समय लागे पनि भोजपुरको सिम्लेसम्म १२ देखि १५ मिनेटमा पुग्न सकिन्छ । जल यातायात व्यवसायी महासंघले यात्रु र सञ्चालकको सुरक्षाको ग्यारेन्टी तथा बैज्ञानिक र बैधानिक भाडा निर्धारण भएपछि मात्र जहाज सञ्चालन गर्ने जनाएको छ ।