काठमाडौं । एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा बिहीबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले हरायो। एनआरटीले पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको थियो। एनआरटीको जितमा दुवै गोल वैकल्पिक खेलाडी राजेश परियारले गरे। राजेश २२औं मिनेटमा कृष्ण कुमारको स्थानमा मैदान प्रवेश गरेका थिए। उनले मैदान छिरेको १० मिनेट लगत्तै एनआरटीको खाता खोले।

राजेशले ३२औं मिनेटमा दर्शन गुरुङको पासमा जाली चुमाएका थिए। राजेशले ५२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए। उनले श्यामबाबु काप्छ्याकीको पासमा पोस्ट् नजिकबाट गोल गरेका थिए। यसैगरी मध्यभागमा औसत खेल खेलेको ब्रिगेडको अग्रपंक्ति कमजोर बनेको थियो। ६२औं मिनेटमा ब्रिगेडले पेनाल्टीको अवसर पनि गुमाएको थियो। कप्तान अनिल गुरुङ पेनाल्टीमा चुकेका थिए। अनिलको प्रहारलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले सजलै विफल पारिदिएका थिए। नेपाली फुटबलका अनुभवी खेलाडी अनिलले यस सिजन गोल गर्न सकेका छैनन्। एनआरटीका श्यामबाबु काप्छ्याकी म्यान अफ दी म्याच भए। यस जितसँगै चौंथो स्थानमा उक्लिएको एनआरटीले नौ खेलबाट १५ अंक बनाएको छ। आठ अंक बनाएको ब्रिगेड ११औं स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्मीको २० अंक छ। दोस्रो स्थानमा रहेको मच्छिन्द्र र तेस्रो स्थानमा रहेको मनाङ मस्र्याङदीको समान १९ अंक छ।

खेलपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले तीन अंकका लागि खेलेको खेलमा सफलता पाएको बताए। ‘टोलीका धेरै खेलाडी घाइते छन्। तर पनि आज जित्नै पर्ने खेलमा राम्रो खेले। आजको नतिजा हाम्रो लागि महŒवपूर्ण थियो। अघिल्लो वर्षको दुई अंक घटुवाले पनि केही गाह्रो छ। अन्यथा एनआरटी उपाधि दौडमै थियो। हामी चार खेलमा अझै सुधार गर्नेछौं,’ राजुकाजीले भने। ब्रिगेडका प्रशिक्षक खगेन्द्र पुनले राम्रो खेले पनि गोल नहुँदा हारमा चित्त बुझाएको बताए। ‘मौका पाएर पनि गोल भएन। पेनाल्टी मिस हुनु अर्को दुर्भाग्य भयो। हारले रेलिगेसनमा परिन्छ कि भन्ने डर छ,’ खगेन्द्रले भने।

यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले कठिन जित हात पारेको छ। प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स च्यासल युथ क्लबलाई १–० गोलले हरायो। फ्रेन्ड्सको जितमा उत्तम राईले निर्णायक गोल गरे। उत्तमले ८४औं मिनेटमा रिवाउन्ड बलमा गोल गरेका थिए। विश्व अधिकारीको पहिलो फ्रिकिक प्रहार च्यासलका गोलरक्षकले फर्काएको बललाई उत्तमले सोझै जाली चुमाए। उत्तम राई म्यान अफ दी म्याच भए। जितसँगै नौ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ। समान खेलबाट नौ अंक बनाएको च्यासल १०औं स्थानमा छ।अन्नपूर्ण पोष्ट बाट