काठमाडौं। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नाम टुंगो लागेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच भागबन्डा मिलेपछि पदाधिकारीको नाम टुंगो लागेको हो ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको सिफारिस समितिको शनिबार बसेको बैठकले सत्यनिरूपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरूमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ ।

यसैगरी, बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फबाट युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी र कांग्रेसका तर्फबाट सदस्यहरूमा सुनिलरञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको बैठकमा सहभागी सिफारिस समितिका सदस्य तथा नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले बताए ।
नेकपा र कांग्रेसबीच सत्यनिरूपण तथा मेलमिलाप आयोगमा नेकपाबाट तीन र कांग्रेसबाट दुई र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कांग्रेसबाट तीन र नेकपाबाट दुई पदाधिकारी रहने सहमतिअनुसार पदाधिकारी टुंगो लागेको हो ।

सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेताको बैठकले संक्रमणकालीन न्याय टुंगो लगाउन सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक ल्याउने सहमति भइसकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुवै दलका शीर्ष नेताहरूबीच यस्तो सहमति भएपछि पदाधिकारीको टुंगो लागेको छ । शीर्ष नेताहरूबीच लामो समय छलफल भएपछि सहमति जुटेको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (शनिबार) सोसम्बन्धी विधेयक ल्याउने, पदाधिकारी टुंगो लगाउनेलगायत विषयमा सहमति भएको छ ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्को जारी हिउँदे अधिवेशनमै विधेयक ल्याएर शन्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने सहमति भएको बताए । ‘विधेयकका सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझाव आइसकेको छ,’ नेम्वाङले भने, ‘त्यही सुझावका आधारमा यही संसद्को अधिवेशनबाट आयोगसम्बन्धी कानुन ल्याउने सहमति भएको राजधानी दैनिकले खबर छापेको छ।