काठमाडौँ । चन्द्रमान श्रेष्ठको तारे र शिवराम ढकालको माले गोरु लगातार ३३ मिनेटसम्म जुधे। लगातार जुधेका दुई गोरुमध्ये चन्द्रमानको तारेले शिवरामको मालेलाई धुलो चटायो। नुवाकोटको तारुकास्थित चन्दनीमा चन्द्रमानको तारे गोरुले कार्यक्रमका प्रमुख अतिथि कांग्रेस महामन्त्री शशांक कोइरालासहित उपस्थित हजारौं दर्शकको ध्यान खिचेको थियो।

मदन श्रेष्ठको माले गोरु र कृष्ण श्रेष्ठको काले गोरु लगातार १६ मिनेट जुधेपछि बराबरीमा छुट्याउनुपरेको थियो। सबैभन्दा पहिले जुधाइएका तारुकाकै सोविनमान श्रेष्ठको लाले र विष्णुमान श्रेष्ठको कथुरे गोरुबीच भिडन्त हुँदा सोविनमानको गोरुले विष्णुमानको गोरुलाई लखेट्न सफल भयो। स्थानीय रविन परियारको गोरुलाई जम्दार कान्छाको गोरुले मैदानमा घुँडा टेकायो। छविलाल ढकालको तारे गोरुले भोजबहादुर भण्डारीको काले गोरुलाई बारीको पाटोमै लडाएर पराजित गर्‍यो। यस्तै, स्थानीय श्यामसुन्दर अधिकारीको पुड्केले विकास भण्डारीको लाले, हीरालाल श्रेष्ठको बाबुले सञ्जीव श्रेष्ठको फुर्के, सञ्जीव बरालको कालेले कृष्णलाल श्रेष्ठको माले, सञ्जय श्रेष्ठको कथुरेले शिवराम अधिकारीको बादुरे गोरुलाई पराजित गरी नगद ६ हजार रुपैयाँ हात पारेको छ। हार्ने गोरुधनीलाई समेत प्रोत्साहनस्वरुप नगद चार हजार रुपैयाँ प्रदान गरिएको छ। चन्दनीमा यस वर्ष २२ हल गोरु जुधाइएको थियो।

स्पेनको बुल फाइटको झल्को दिनेगरी माघे संक्रान्ति गोरु मेला बुधवार नुवाकोटको तारुकासँगै बेत्रावती र घलेभन्ज्याङमा पनि आयोजना गरिएको थियो। तीनै ठाउँमा गरी ४३ हल गोरु जुधाइएको थियो। यस वर्षदेखि गोरुपालक किसानले तारुकामा गोरु जुधाउने मेलाका लागि कोष स्थापना गरेका छन्। गोरु जुधाई मेलाका अध्यक्ष भोजबहादुर भण्डारीले किसानले पहिलो पटक यस वर्षदेखि एक लाख ११ हजार एक सय ११ रुपैयाँको कोष स्थापना गरेको जानकारी दिए। तारुका गोरु जुधाइ मेला व्यवस्थापन समितिले प्रत्येक गोरुका धनी किसानसँग एक हजार रुपैयाँ दर्ता शुल्क लिएको थियो। कांग्रेस महामन्त्री कोइरालाले गोरु जुधाइ प्रतियोगिता देशकै पहिचान बन्न सक्ने भएकाले यसको प्रचार प्रवद्र्धन गर्नुपर्ने बताए। तारुकामा गोरु जुधाइ मेलालाई राष्ट्रिय पर्व बनाउनुपर्ने स्थानीय तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले माग गरे। बागमती प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले गोरु पाल्ने किसानमा आएको नैराश्यता हटाउन सक्नुपर्नेमा जोड दिए।

मेलामा सहभागी हुन धुलाम्मे हुँदै सदरमुकाम विदुर, छिमेकी, धादिङ, सुवा, काठमाडौं तथा चितवन तथा आसपास गाउँका हजारौं नरनारी मेलास्थल पुगेका थिए। स्थानीय वृद्ध जनकराज ढुंगानाका अनुसार चन्दनीमा १८८७ सालमा चन्द्र शम्शेरका ज्वाइँ तत्कालीन बझांगी राजा जयपृथ्वीबहादुर सिंह मावली आएका बेलादेखि तारुकामा गोरु जुधाउन थालिएको हो।
अन्नपूर्ण पोष्ट्बाट