file photo

काठमाडौं ।  नेकपा अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी गरेका छन् । बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले
रेशम चौधरीलाई सबभन्दा पहिला आफूले प्रधानमन्त्री हुँदा दिल्लीमा भेटेको स्मरण गर्दै झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास सदैव  जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए । उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरे ।

छोटो सम्बोधन गरेका प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताए ।

उनले सवै समूदायको मुक्तिको आन्दोलन जारी रहेको बताउँदै भने, ‘आवेगमा होइन, उत्तेजनामा होइन सवै जनसमुदायको मुक्तिको आन्दोलन अझै जारी छ ।’
सम्बोधन कै क्रममा अध्यक्ष  ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् ।

आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए ।

‘ममाथि गलत तथ्यांक बारम्बार दोहोर्याइने गरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन’ प्रचण्डको भनाइ छ । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए ।

‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ । यो सत्य होइन  ।

समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताए ।