लेखक – टिका शेर्पा

वैदिक तथा बौद्ध धर्ममा माघे संक्रान्तिको छुट्टै महत्व रहेको छ । संक्रान्तिको अर्थ सूर्यको किरण संक्रमित हुने अवस्थालाई जनाउँछ । किनकि यसबेला सूर्य कर्कट राशिबाट मकर राशिमा प्रवेश गरेको हुन्छ । त्यसैले पनि यो पर्व मकर संक्रान्ति वा माघे संक्रान्तिको रूपमा प्रसिद्ध छ । यसमध्ये मकर राशि र कर्कट राशिको महत्व अझ बढी रहेको छ ।
सनातन हिन्दुधर्ममा त यसको महत्व झन् अधिक रहेको छ । वैदिक शास्त्र अनुसार एक वर्षमा १२ राशिहरूको व्यवस्था गरिएको पाईन्छ । सूर्यलाई पृथ्वीले परिक्रमा गर्नेक्रममा ६ महिना उत्तरायण र ६ महिना दक्षिणायण गरी वर्षभरी दुई धुव्र उत्तर र दक्षिणमा सूर्यको किरण पर्दा राशिहरू परिवर्तन हुने गर्दछन् । उत्तरायण शब्द ‘उत्तर’ र ‘आयाण’ दुई शब्दबाट बनेको छ । जसको अर्थ सूर्यको किरण उत्तरतर्फ गमन गर्नु भन्ने बुझिन्छ । ईश्वी संवत् अनुसार १४ जनवरिबाट सूर्यको किरण उत्तरायणतर्फ लाग्दछ भने जुलाई १४ बाट सूर्यको किरण दक्षिणतर्फ लाग्दछ । यसरी माघे संक्रान्तिको दिन सूर्यको किरण उत्तरी तर्फ लाग्ने भएको कारणले भारत र नेपालमा विस्तारै गर्मि सुरु हुँदै जान्छ । वैदिक शास्त्र अनुसार उत्तरायणलाई देवताहरूको दिन तथा दक्षिणायणलाई देवताहरूको रात पनि भनिएको पाईन्छ ।
भगवान् गौतम बुद्धले पनि उत्तरायण सुरु भएपछिको तेस्रो पूर्णिमाको दिन (बैशाखशुक्ल पूर्णिमा) मा बुद्दत्व जस्तो परम श्रेष्ठ ज्ञान लाभ गर्नुभएकोले पनि यस पर्वको महत्व झनै बढेर गएको देखिन्छ । त्यति मात्र नभएर महाभारतको समयमा भिष्मपितामहले पनि आफ्नो नाशवान् देह यसै समयलाई लक्षित गरेर त्यागेका थिए । थुप्रै ऋषिमुनिहरूले पनि दक्षिणायणलाई भन्दा उत्तरायण समयलाई नै बढि महत्व दिएको पाईन्छ । हिन्दु धर्मावलम्बीहरूले गंगोत्रीमा नुहाएर शरीर शुद्ध गरेपछि सूर्य नारायणलाई जल अर्पण गरी यस पर्वलाई मनाउँछन् भने अलग–अलग स्थानहरूमा यस पर्वलाई अलग–अलग नामले सम्बोधन गरेको पनि पाईन्छ । प्राचीन कालदेखि वैदिक र बौद्ध धर्ममा पूजापाठ, जपतप र ब्रत बस्ने चलन चलि नै आईरहेको छ । माघे संक्रान्तिको बेलामा नै वनतरुल, घरतरुल वा अन्य मिष्ठान्न परिकारलाई न्वागीको रूपमा संक्रान्तिको दिन खाने गर्दछन् । जसमा घ्यू, चाकु तथा तिलका परिकारहरू समेत यसमा पर्दछन् । सबैभन्दा बढि जाडो मकर संक्रान्तिकै दिन पर्ने भएकाले मानिसहरूले चिसोबाट बच्नको लागि यी पौष्टिक परिकारहरू खाने चलनको विकास हुँदै गएको हुनसक्ने सहजै अनुमान लगाउन सकिन्छ ।
उत्तरायणकै समयमा चन्द्रपात्रो अनुसार ल्होसार सुरु हुन्छ । यसको अर्थ प्रकृतिमा एक प्रकारका परिवर्तनहरू देखा पर्दछन् भने वसन्तऋतुको पनि आगमन हुन थाल्छ । जुनबेला सिंगो प्रकृति नै आकर्षक, रमणीय र मनमोहक देखिन थाल्छ । जे होस् वैदिक र बौद्ध धर्म शास्त्र अनुसार जुनसुकै पर्वले पनि आ–आफ्ना छुट्टै विशेषताहरू बोकेका हुन्छन् । त्यसो हुनाले नै वैदिक र बौद्ध धर्ममा अर्पण, तर्पण र समर्पणजस्ता परकल्याण, भाईचारा र सद्भाव आदि आध्यात्मिक भावनाहरू अन्तर्निहित रहेका बुझ्न सकिन्छ ।
यसर्थ, यसपालिको माघे संक्रान्तिको सुखद् उपलक्ष्यमा बुद्धवचन अनुवाद समिति नेपालको तर्फबाट यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
।। भवतु स र्वङ्गलम् ।।
लेखक – टीका शेर्पा अध्यक्ष ( बुद्द वचन अनुबाद समिती नेपाल )