माघे सक्रान्तिबारे अनेकन बहस सुरु भएका छन् । विभिन्न समुदायले आआफ्नै तरिकाले मनाउने माघे सक्रान्तिलाई आफ्नो मात्रै चाड भएको दाबी गरेपछि कडा बहस सुरु भएको हो । बहसले यति चर्को रुप लिइसकेको छ कि, माघी पर्व तेरो वा मेरोसम्म पुगिसकेको छ । यतिबेला माघी पर्व खोसाखोसको अवस्थासम्म आइपुगेको छ । जसले जे भने पनि, जस्ता बहस चलाए पनि माघीका विषेशता ठाउँअनुसार फरकफरक छन् । माघ १ गतेलाई देशका विभिन्न भागमा बेग्लाबेग्लै किसिमले मनाइन्छ । विभिन्न समुदायले आ- आफ्नै तरिकाले मनाए । मुख्य गरि थारु, मगर र छन्त्याल समुदायबिच माघी पर्व ‘खोसाखोस’ को अवसस्थामा पुगेको छ । यस्तो अवस्था ल्याइदिने अरु कोही नभएर सरकार हो ।
“मगरहरुले मार्हाङ याक(खुसीको दिन) वा माघे सकराटी, कतै मिनम ल्हेस (नयाँ वर्ष), कतै सार ल्हेस भनेर मनाउँछन्” ।
माघीले विभिन्न समुदायले आआफ्नै तरिकाले राष्ट्रिय पर्व घोषणा गर्नु पर्ने माग गरिरहेका बेला नेपाल सरकारले विसं २०६५ सालमा मन्त्रिपरिषदको निर्णयबाट माघे संक्रान्तिलाई मगर समुदायको राष्ट्रिय पर्व घोषणा गरेको थियो । यस्तै थारु समुदायका अगुवाले माघीलाई थारुको पर्व भनेर मान्यता दिनुपर्ने माग गर्दै संघर्ष गरेपछि २०६८ सालमा मन्त्रिपरिषदले माघीलाई थारुको पर्व भनेको थियो । त्यसको लगत्तै सरकारले २०६८ पुस २८ गते बसेको मन्त्रीपरिषदको बैठकले मगर, थारुको मात्रै नभई छन्त्याल जातिको पर्व पनि माघी भएको मान्यता दिएको थियो । माघीलाई थारुले नया वर्ष र स्वतन्त्रताको अवसरका रुपमा मनाउँछन् । पहिले मालिकको घरमा एक वर्षका लागि राखिएका कमैयाहरु मालिकबाट बिदा लिन चाहेमा माघीमा घर जान पाउँथे ।
मगर समुदायमा पनि माघीको कम महत्व छैन । उनीरुले त झन् ३ देखी १५ दिनसम्म यो पर्व मनाउँन् । अठार मगरात क्षेत्रको रुपमा चिनिने रोल्पा, रुकुम र बागलुङका मगरहरु पुस १५ गतेदेखि नै तारो हान्ने खेलको अभ्यास गर्दै माघीको तयारी गर्छन् । माघे सक्रान्तिलाई मगर समाजमा बितेका पुर्खाहरुको पूँजा (पितृ पूजा) गर्ने, छोरीचेलीलाई दक्षिणा दिई सत्कार गर्ने र प्रकृतिसँगको आफ्नो सम्बन्ध दर्साउने पर्वको रुपमा मनाउँछन् । माघे सक्रान्तिका दिन वनतरुल, घरतरुल, जौ, तिल र मासको दालको टीका लगाउने र खिँचडी खाने गर्छन् । रोल्पा, रुकुम, बागलुङ र म्याग्दीका मगरहरु तारा हान्ने खेल खेल्छन् । यो खेल प्रतियोगितामा पहिलेपहिले भरुवा बन्दुकको प्रयोग गरिए पनि अहिले बन्दुकको प्रयोग निकै कम हुन्छ । यसको ठाउँ लिएको छ धनुषवाणले । तारो हान्ने खेलमा निसाना लगाई विजयी भए त्यसलाई टाउँकोको सेतो फेटा गुथाएर बाजा बजाउदै काँधमा राखेर गाउमा डुलाउने प्रचलन छ । त्यसैगरी पाल्पा, स्याङजा, गोरखा र तनहुँका मगरहरु कौहा्रा नाँच नाचेर रमाइलो गर्छन् । माघे सक्रान्तिको अघिल्लो दिन मगरहरु आआफ्नो टोलमा जम्मा भई सुगुर, बुँगुर, खसी–बोका, राँगो काट्ने गर्छन् ।
 
“समाजशास्त्री एवं भाषाविद प्राध्यापक बिके राना मगरका अनुसार यो पर्व मूलतः प्रकृति पूजा अर्थात् ‘सूर्य पूजा वा उपासना’ को पर्व हो ।”
त्यसो त माघी कुनै एक जातिको पर्व रहेन । काठमाडौ उपत्यकाका नेवारहरुले यसलाई घ्यू चाकु संल्हूका रुपमा मनाउँछन् । मगरहरुले मार्हाङ याक(खुसीको दिन) वा माघे सकराटी, कतै मिनम ल्हेस (नयाँ वर्ष), कतै सार ल्हेस भनेर मनाउँछन् । थारुहरुले माघी, हिन्दु धर्मावलम्बीहरुले मकर संक्रान्तिको रुपमा यस चाडलाई धुमधामका साथ मनाउ“छन् । पर्वको तिथीमिति एउटै भए पनि नेपालका थुप्रै जातजाति र समुदायपिच्छे फरक तरिकाले मनाइन्छ माघी । छन्त्यालले ‘छारमेङ’, नेवारले, लिम्बुले ‘कः क्फेकवा तङनाम’ नामले पुकार्छन् भने । सरकारले छन्त्याले पर्व भनेपछि त्यसयता उनीहरुले पनि अझ हर्र्सोउल्लासका साथ पर्व मनाउन थालेका छन् ।माघी नेपालमा मात्रै होइन, विश्वभर आ–आफ्नै स्थानीय नाममा प्राचीन कालदेखि मनाउने गरिएको छ । समाजशास्त्री एवं भाषाविद प्राध्यापक बिके राना मगरका अनुसार यो पर्व मूलतः प्रकृति पूजा अर्थात् ‘सूर्य पूजा वा उपासना’ को पर्व हो । यो पर्व प्रकृति, ऋतु परिवर्तन र कृषिसंग सम्बन्धित छ । ज्योतिषशास्त्रका अनुसार माघ १ गतेका दिन सूर्य पृथ्वीको दक्षिणी गोलार्धको कुनै काल्पनिक ‘मकर रेखा’ मा प्रवेश गरी उत्तरी गोलार्धतिर लाग्दछन् । सूर्य ‘मकर रेखा’ वा मकर राशीमा प्रवेश गर्ने भएबाट माघीलाई ‘मकर सक्रान्ति’ भनिएको हो ।
नेपालमा यो चाडलाई विभिन्न जातजातिले फरकफरक तरिकाले मनाउने भएकाले कुनै एक जाति विशेषले हाम्रो मात्रै पर्व हो भन्नु मनासिव देखिदैन । त्यस्तो दावीले आफैलाई कमजारे बनाउँछ । त्योभन्दा अझ गहिरो कुरो सरकारले बुझ्नुपर्ने हो । तर, नेपालको राज्य संयन्त्र यति कमजोर छ कि, विनाअध्ययन अनुसन्धान जसले जे माग्यो अन्धाधुन्ध तरिकाले दिने गरेको तथ्य यहि माघीलाई तीन थरी समुदायको राष्ट्रिय चाड भनेर घोषणा गर्नुले देखाउँछ । सरकारले माघी हाम्रो जातीय चाड हो भन्दै जो जो उफिन्छ, त्यसैको हो भन्दै मन्त्रीपरिषद्बाट निर्णय गर्नु ठूलो गल्ती हो । सरकारमा बस्ने अल्पज्ञानीहरुले गरेको यस्तो निर्णयले समाज जुटाउन हैन, फुटाउन मद्दत गर्छ । त्यसैले सरकारहरुले जजसले माघीलाई आफ्नो पर्व भनेर माग गर्छन्, उनीहरुलाई खुसी बनाउन हावाको भरमा लौ तिमै पर्व हो भनेर घोषणा गरिदिनु तर्कसँग हुँदै होइन ।
समाजशास्त्री एवं भाषाविद् प्राध्यापक बिके राना मगरका अनुसार माघे सक्रान्ति पर्वका बारेमा महाभारत, ‘मत्स्य पुराण’ र ‘स्कंद पुराण’ हरुमा अत्यन्त मीठा मीठा, रोचक कथाहरु वर्णित छन् । संस्कृत भाषाको यो ‘मकर’ वा ‘माकर’ शव्दले ‘गोही’ वा ‘समुन्द्री राक्षस’ भन्ने अर्थ लाग्छ । ध्वनिबिज्ञान अनुसार यी ‘मकर’ र ‘मगर वा मागर’ शव्दका ‘क’ र ‘ग’ व्यंजन वर्णहरु बोल्दाखेरि एकै स्थान – ‘कण्ठ वा घाटी’ बाट उच्चारण हुने ध्वनिहरु हु्न । ‘मकर’को ‘क’ अघोष, अर्थात् घाटीमा ‘घर्षण नहुने’ र ‘मगर वा मागर’ को ‘ग’ सघोष अर्थात् घाटीमा ‘घर्षण हुने’ व्यंजन वर्णहरु हुन ।
माघे सक्रान्ति अर्थात् ‘मकर संक्रान्ति’ कताकता ‘मगर संक्रान्ति’ हो कि भन्नेजस्तो देखिए पनि वा भावार्थ त्यस्तो लागे पनि नेपालका ‘मगर’ जातिसित ‘माघे सक्रान्ति’ शब्दले माथि लेखिएका ‘मकर र माकर’ शव्दहरुले कुनै अर्थ र सम्बन्ध राख्दैनन् । त्यस्तै नेपालका अन्य जातिहरु थारु, छन्त्याल, कुमाल वा अन्य जो जसले ‘मकर सक्रान्ति’ वा ‘माघे संक्रान्ति’ लाई आ–आफ्नो ‘जातीय चाँड’ भन्ने चर्को दावी गरेका छन् उनीहरुसँग कुनै कुरा मेल खाँदैन । सरकारले ‘मगर, थारु र छन्त्याल’ को मात्र जातीय चाडका रुपमा माघीलाई मान्यता दिई सार्वजनिक बिदा दिनु युक्तिसँगत देखिदैन । थारु र छन्त्यालसँग त झन यो ‘मकर संक्रान्ति’ को ‘मंगर वा मगर’ जातिसंग देखिन आएको शव्दको ध्वनिगत सम्बन्ध र सामिप्यता जस्ता कुनै कुरा पनि देखिदैनन् । त्यसैले ‘मकर सक्रान्ति’ मेरो वा तेरो चाड भन्दा पनि नेपालीको राष्ट्रिय चाडका रुपमा बुझे सुनमा सुगन्ध हुनेछ ।