तपाईं आफ्नो मान्छेलाई प्रेम गर्नुहुन्छ कि माया ?

- चर्चित खबर सम्बाददाता

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार ०८:१६

  • नाता, सम्बन्ध, जात, लिङ्ग, वर्ण, देश र कालदेखि माथि केही छ भने त्यो हो प्रेम । प्रेमको हृदयभित्र सबैले समान स्थान प्राप्त गर्न सक्दछन् । आफूले चाहेको वस्तु फेला पर्यो भने खुसी र गुम्यो भने दुःखी हुने चरित्र मायाको चरित्र हो ।

 

 

अनुपा प्यकुरेल

माया र प्रेमलाई एउटै तराजुका दुईवटा पल्लामा राख्दा अवश्य पनि त्यो प्रेमकै पल्ला भारी हुन्छ । वातावरण र पर्यावरणका हिसाबले पनि प्रेमको आकाश गंगा धेरै नै उँचो छ । यसको वृत्त या परावृत्तमा माया कुनै पनि अर्थ या प्रसङ्गमा आउन सक्दैन । यसर्थ माया माया नै हो भने प्रेम, प्रेम नै हो ।

माया एक बस्तुबाट अर्को वस्तुमा निरन्तर स्थानान्तरित भइरहन्छ । आजको माया भोलि घृणामा पनि बदलिन सक्छ । वासना मायाको धर्म भएका नाताले यसले सर्वथा प्राप्तिको मात्र अपेक्षा गरेको हुन्छ किनकि वासना भनेकै ग्राहकत्व हो । फूलको सौन्दर्य रहेसम्म त्यो प्रिय भयो, ओइलाउँदाका दिन घृणा सुरू । कुनै वस्तु वा व्यक्तिले आफ्ना तर्फबाट दिन छोड्दाका दिन माया पनि हराएर जान्छ
त्यस्तै संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द सायद ‘प्रेम’ होला। प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, यो प्रश्न बडो जटिल छ हर कोहिको लागि। प्रेम मानिस-मानिसको बीचमा मात्र नभएर मानिस र चराचुरुङ्गीदेखि सबै प्रकारका जन्तु जनावर बीचमा रहेको देखिन्छ। तपाईँको घरमा कुकुर छ । कुकुरलाई औधि माया गर्न सक्नुहुन्छ, बिरालो तपाईँको प्रिय रहेको होला, वा तपाईँको घरमा सुगा, मैना वा कुनै सुन्दर चरा होलान्।
यस्ता धेरै प्रेम कहानीहरू पनि छन्। जस्तो कि लैला-मजनु, रोमियो-जुलियट, मुना-मदन, हीर-राँझा, नल-दमयन्ती, सावित्री-सत्यवान आदि। नल-दमयन्ती र सावित्री-सत्यवानका कथाहरू वियोगपछि संयोगमा टुङ्गिएका छन्। ताजमहल प्रेमको तीर्थस्थल बनेर उभिरहेकै छ। तर पनि यहाँ हरेक मान्छेहरुको तिर्सना जस्ताको तस्तै छ – प्रेमको बारेमा मनमा उब्जेको जिज्ञासा जस्ताको तस्तै छ। प्रेमको साश्वततालाई मृत्युले पुष्टि गर्छ कि जीवनले? प्रेम आदिसत्य हो कि अन्तिम सत्य हो? कि प्रेम, माया जस्ता कुरा प्राणीहरूलाई संसारमा अल्मल्याउने एउटा भ्रम मात्र हो? अद्वैत वेदान्तीहरूलाई सोध्दा ‘हो’ भन्लान्। तर सबै मानिस अद्वैत वेदान्ती हुन पनि सक्दैनन्। सबै वेदान्ती भए यो सृष्टि यहाँसम्म आइपुग्ने पनि थिएन। अनि यो प्रश्न पनि ‘प्रश्न’ हुँदैनथ्यो होला। गन्थन जति गरे पनि हामी घुम्दै फिर्दै फेरि प्रारम्भमै पुग्ने गर्छौ । त्यही प्रश्नहरूकै जालोमा रुमलीरहेका छौ ।
आखिर प्रेम के हो?

प्रेम तर त्यस्तो हुँदैन । प्रेमको स्वभाव त्याग र दानको स्वभाव हो । यसले देश, काल, परिवेश, इष्टमित्र, छरछिमेकी आदि हेरेर वा विचार गरेर कसैलाई दिने, सहयोग गर्ने वा आस्थाभाव प्रकट गर्ने गर्दैन । दानी र त्यागीहरु कल्याण र उपकार हुने भए उनीहरुका लागि त्यही पात्रता हो । प्रेम निष्फल हुदैन । बालुवामा पनि बिरुवा उमार्ने हैसियत प्रेममा मात्र हुन्छ । महात्मा गान्धीले भनेका छन्—‘प्रेम मूर्ख मानिसलाई सुधार्ने मुख्य औषधी हो ।’ मूर्खता रोग हो भने प्रेम समान औषधी उसका लागि अर्को हुन सक्दैन । गौतम बुद्ध भन्छन :प्रेम ध्यानको अन्तिम बिन्दु भनेका छन । जिजसले : प्रेम ईश्वर भनेका छन । महा बैरागी महाबिर : प्रेमलाइ केबल्यको अन्तिम ज्ञान भनेका छन । प्रेम मुक्ती हो । प्रेम शाश्वत सत्य हो ।
आजको मान्छे मायामा विश्वास गर्दछ । के आजको मान्छे मूर्खहरुलाई सहयोग गर्न र सद्मार्गमा डोर्याउन सफल छ ? मूर्खले दिने भनेकै मूर्खता हो ।
उससँग जे छ, उसले त्यही दिन्छ । तर सच्चा प्रेमीहरु मूर्खको मूर्खता लिएर पनि मानिस र पशुप्राणीलाई प्रेम अनि सहयोग गर्न नित्य उत्साहित हुने गर्दछन् ।
गौतम बुद्धप्रति घृणाको अग्निज्वाला ओकल्ने मानिसहरुको कमी थिएन । गौतम बुद्धलाई भँडुवा र बेकामे भनेर गाली गर्नेहरु सयौँको सङ्ख्या थिए, तर एकजनाले पनि बुद्धको आक्रोश र घृणायुक्त प्रतिक्रियाको सामना गर्नु परेन । बदलामा तिनै घृणा र आक्रोश पोख्नेहरु अन्ततः भगवान् गौतम बुद्धका अनन्य शिष्य र सहयोगीमा बदलिएर गएका थिए ।
धम्मपदमा प्रेमलाई ‘वैरभाव हटाउने एउटै मात्र उपाय’ हो भनी व्याख्या गरिएको छ । आगोमा आगो थप्दा आगो नै बढेर जान्छ । आगो निभाउने शक्ति केवल पानीमा छ ।

माया भनेको भ्रमको नाम हो । दर्शनशास्त्रमा मायालाई भौतिक वस्तुप्रतिको आसक्तिका रुपमा व्याख्या गरिएको छ ।त्यसैले, मायाको आयु लामो हुँदैन । वस्तुको आयु र मायाको आयुमा कुनै फरक हुँदैन । वस्तु रहुन्जेल माया रहन्छ, वस्तुको अन्त्यसँगै मायाको पनि अन्त्य भएर जान्छ । प्रेम र माया समानार्थीजस्ता देखिए पनि यी दुईमा आकाश र जमिनको अन्तर छ । त्याग, करुणा र समर्पण प्रेमका चरित्र हुन् । प्रेम समयको सीमारेखाभन्दा माथि रहेको हुन्छ । प्रेम जहिले पनि आनन्ददायक हुन्छ र प्रेमका कारण उत्पन्न खुसी लामो समयसम्म रहन्छ । प्रेम दैवी चरित्र हो । मायामा यो दैवीपन हुँदैन । माया आज छ, भोलि छैन । भौतिक वस्तुको जन्म नै मायाको पनि जन्मको कारण हो । किनकि भौतिक व्यक्ति, वस्तु र विषय नै मायाका आधारभूमि हुन् ।

प्रेम त अकारण पैदा हुन्छ ।प्रेम आत्माको साक्षात्कार गर्ने बाटो हो । प्रेम नै विश्वब्रह्माण्डको कणकणमा व्याप्त छ । ब्रह्माण्डको गहिराईमा यही प्रेमको भाव सन्निहित छ । यसैले माया भौतिक हो भने प्रेम आध्यात्मिक हो । अध्यात्म अमूर्त हुन्छ । प्रेम आत्मासँग नजिक हुन्छ, भने माया शरीरसँग सम्बन्धित हुन्छ । दर्शनशास्त्रमा मायालाई नै दुःखको कारण मानिएको छ । अङ्ग्रेजीमा मायालाई क्षणभङुगुर अर्थात् भ्रम भनेर मानिएको छ । भ्रम हो जस्तो देखिन्छ, तर हुँदैन । जादू र माया उस्तै हुन्छन् । जादूगरको जादू हेरिन्जेल मनोरञ्जन त हुन्छ तर त्यो सत्य हुँदैन । जादू भनेको ‘आँखामा छारो’ हो, उत्तिखेरै देखियो, उत्तिखेरै हरायो । आखाको भुल हो ।
हामीलाई पैसा सबैथोक हो कि जस्तो लाग्छ । पैसा भए त सबैथोक हुन्थ्यो भन्ने ठानेर नैतिक, अनैतिक अनेक प्रकारले हामी पैसा पनि जम्मा गर्दछौँ । पैसाको माया यति धेरै लाग्दछ कि खर्चभन्दा सङ्ग्रहमै हामी जोड गर्दछौँ । पैसा नहुँदा पनि भएन भन्ने पिर । भए पनि खर्च हुन्छ कि भन्ने पिर । पैसाको मोहमा चुर्लुम्म डुबेको मान्छेलाई त्यसको संरक्षणकै चिन्ता हुन्छ, रातदिन । पिरै पिरमा जुनी बितेर जान्छ । चार तले घर छ, तर एकजना मान्छे माग्न आयो भने ‘यत्रा बलिया हातखुट्टा हुने मान्छे पनि के लाज नभएर माग्न आएको’ जस्ता अनेक टिकाटिप्पणी गरेर खाली हात फर्काइदिन्छौँ । बैङ्कमा करोडौँ रुपैयाँ भएर के भयो र यदि माग्नेले एक रूपैयाँ पनि पाउँदैन भने !
मायाको जाल कहाँ पैसामा मात्र सीमित छ र ! छोरानाति र पनातिसम्म पुगेको छ । छोरानाति भए त केके न हुन्थ्यो भनेर छोराको लोभमा दर्जन छोरी जन्माउन तयार छौँ हामी । आजभोलि नारी स्वतन्त्रता र समानताको जतिसुकै चर्का कुरा गरिए पनि तिनै नारी स्वतन्त्रताका कथित हिमायतिहरु दुइटा छोरी पछि पनि छोरो चाहिन्छ भनेर कम्मर कस्न छोड्दैनन् । कयौँ पढेलेखेका र पुरुष र महिलामा फरक नदेख्ने ‘भाषणबाज’हरु पनि खुसुखुसु छोरी भए भनेर बुढेसकालमा पनि छोराका लागि मरिहत्ते गरका देखिन्छन् ।

प्रेम त जे छ त्यसैमा सदा सन्तोष मानेर बस्छ । छोरी र छोरामा भेद देख्नु त केवल माया हो । असन्तोष मायाको खासियत हो । घरमा जतिसुकै राम्री श्रीमती होस् वा श्रीमान् होस्, तापनि अर्कैकी श्रीमती मन पर्ने वा श्रीमान् मन पर्ने वासनाको सगरमाथा चढ्न असन्तुष्तिको भारी बोकेर मायाको यात्राका सरिक हुने मायालुको बढ्दो सङ्ख्याले आजको समाज भरिएको छ । मायालुहरु कहिल्यै सन्तुष्ट हुँदैनन् । तर प्रेमीहरु कहिल्यै असन्तुष्ट हुँदैनन् ।
जो मूर्त छ, त्यसको विनाश निश्चित हुन्छ तर अमूर्तको कहिल्यै विनाश हुँदैन । यसप्रकार प्रेमको पनि कहिल्यै विनाश हुँदैन किनकि प्रेम पनि अमूर्त हुन्छ । प्रेम र माया योग र भोगका दुई अलगअलग उदाहरण हुन् । भोगवादीहरु मायामा विश्वास गर्दछन्, भ्रममा विश्वास गर्दछन् तर योगवादीहरु सत्य र प्रेममा विश्वास गर्दछन् । आत्मा अन्तस्करणको नाम हो । अन्तस्करणले नै बाहिरको शरीरलाई सञ्चालन गरिरहेको हुन्छ । प्रेम अनुभूतिमा प्राप्त गर्न सकिन्छ । प्रेमको अनुभूति हुन्छ तर मायाको भोग हुन्छ । आज प्रेम शब्दको दुरुपयोग गरिएको छ । भोगमा चुर्लुम्म डुबेर योगको चर्चा हुने गरेको छ । प्रेमको अर्को महत्त्वपूर्ण चरित्रको नाम धैर्य हो । समग्र सृष्टिप्रति अकारण आस्था र अपनत्वको भाव जागेर आउँछ, प्रेमका कारण । नाता, सम्बन्ध, जात, लिङ्ग, वर्ण, देश र कालदेखि माथि केही छ भने त्यो हो प्रेम । प्रेमको हृदयभित्र सबैले समान स्थान प्राप्त गर्न सक्दछन् । आफूले चाहेको वस्तु फेला पर्यो भने खुसी र गुम्यो भने दुःखी हुने चरित्र मायाको चरित्र हो । मायामा समयसमयमा परिवर्तन भइरहन्छ । मायाकै कारण मानिसको धारणामा पनि परिवर्तन आउने गर्दछ ।धर्तीको जस्तो हृदय प्रेमको हृदय हो । धर्तीको यो विशाल छातीमा सृष्टिका तमाम सिर्जनाहरुले उत्तिकै सान र मानका साथ बाँच्ने अवसर पाउँछन् ।

बोटविरुवा, वनस्पति, कीटपतङ्ग, जीवजनावर र मनुष्यसम्म सबैको हैसियत धर्तीका लागि उत्तिकै छ । आकाशको सूर्यको प्रकाश एकसाथ बोटबिरुवादेखि मनुष्यसम्म छरिएको हुुन्छ । ‘म धर्तीको श्रेष्ठ प्राणी हुँ’ भन्ने त मान्छेको धारणा न हो । प्रकृतिले त सबैलाई आकाशको छत, धर्तीको आँगन, वायुको पर्खाल र सूर्यको प्रकाशबाहेक अरु केही दिएको छैन । यो प्रेमको हृदय हो । घृणा र विषलाई पनि अमृतमा बदलेर प्रेमले विजय हासिल गर्न चाहन्छ । मान्छे एक सेकेन्ड पनि धर्तीमा नटेकी उभिन सक्दैन । यसको बदलामा के कहिल्यै मान्छेले धर्तीलाई धन्यवाद दिने मौका पायो होला ? कुनै एक सेकेन्ड मान्छेले धर्तीप्रति कृतज्ञता प्रकट गर्ने अवसर पायो होला ?
मान्छेले गुन कहिल्यै नसम्झिए पनि धर्तीले प्रतिपल उसको पैतालामुनि किल्चिएर बाँच्नुमा दुःख प्रकट गरेको छैन । यही प्रेम हो । प्रेममा अभिभावकको जस्तो न्यानोपन हुन्छ । प्रेम जस्तो पबित्र भावनाको बदनाम भएको देख्दा दिक्क लाग्छ। प्रेम गर्नु भन्दा पहिले प्रेम के हो ?त्यो सिक्न जरुरी हुन्छ।प्रेम भन्ने कुरा जसले जो सँग पनि गर्नु हुन्छ र गर्नु पर्छ पनि।अथवा एउटा छोराले बाबुलाई,आमालाई,दिदीबहिनीलाई,त्यस्तै छोरीले पनि।धेरै कुरा दोहोर्याउँदा नुन चर्को भए जस्तो होला तर पनि यो सँपूर्ण संसार नै प्रेमको प्रतिमूर्ती हो भन्दा अत्युक्ति नहोला।हामीले गर्ने प्रत्येक कर्महरु पनि प्रेमको शाखा र प्रशाखाको समिश्रण हो अन्यथा सफलता फेला पार्न प्रेम भन्ने दबाई नखाइकन हुँदैन ।यो एउटा एस्तो औषधि हो जसले निधन भएर पनि सास हुनेहरुलाई बास दिन्छ।जिन्दगीको गोरेटोमा वेवारिसलाई पनि परिचित बनाउँछ। ओइलिएर शिथिल भएका फूलहरुलाई एउटा छुट्टै उत्साह र उमंगको ज्वार पैदा गराइदिन्छ ।दुश्मनलाई आफ्नो मान्छे बनाएर यो पर्यटकिय संसारका अप्ठ्यारा पथहरुलाई पिच सडक बनाईदिन्छ। वैमनस्यताका कुन्ठाहरुलाई मानवीयतामा बदलिदिन्छ ।बरबादिका छालहरुलाई उपयोगको रोजगारी दिन्छ।एकाकार रातहरुलाई झिलिमिली सहर बनाईदिन्छ।हिंड्दा हिंड्दै भूलेका रस्ताहरुलाई स्मरणीय क्षण बनाइदिन्छ।मरेर पनि जिउने अमृत पान गराउँछ र जन्मीनु र मर्नुको सत्यतालाई मित्थ्या बनाएर अजम्बरीको बुटी पहिर्याइदिन्छ।खग्रास सूर्यग्रहणका जस्ता काला धब्बाहरुलाई मेटेर सुन्दर संसारको दर्शन दिन्छ।घात र प्रतीघातका धारहरुलाई भुत्ते बनाईदिन्छ ।

सहिष्णताका जमघटहरुलाई मौलाउन दिन्छ।मानव संघारका बिभत्सहरुलाई त्यागेर बुद्धको बटबृक्षहरुमा कलमी गरीदिन्छ र त्यो कलमिलाई बिकसित बनाउउँछ। के के गर्छ ,गर्छ,यसले गर्ने कुराको कुनै सिमाना नै हुँदैन भन्नुको अर्थ यसले गर्ने कुराहरु नकारात्मक हुंदैनन।प्रेम गर्नका लागि गालाम  गाला जोडेर र अङगालोमा बेरेर हिड्नु पर्छ भन्ने हुँदैन ।प्रेम भन्ने कुरा न त कसैबाट जबरजस्ती लिने कुरा हो,न त दिने नै,यो त मन जितेर गरिने र लिने कुरा हो,एउटा ब्यक्तिले त नभनौँ एकले अर्कोप्रती देखाउने एउटा छुट्टै संसार हो यो प्रेम।प्रतिकात्मक छाँया हो,नापेर नसकिने नाप हो,भरेर नभरीने भाँडो हो। हेरेर नदेखिने अदृश्य हो,फूल्दै फक्रँदै गर्ने एउटा प्रकृतिको फूल हो र यथार्थमा मैले जानेको भन्दा बढी नै हो।

यहि प्रेमको नाउँमा ठूला ठूला घटना भएका छन।केही राम्रा भएका छन त केही नराम्रा।आत्महत्या भएका छन।धोका भन्ने शब्द शब्दकोशमा थपिएको छ।प्रेमको नाउँमा कति दिदीबहिनीहरु बलात्कृत भएका छन।अन्तरजातीय सम्बन्धले बिबाहमा  परिणत भएको घटना देखि लिएर कति बुहारीहरु सासुको सिकार भएका छन ।सयौं छोराहरु कुलघरानबाट बाहिरीएका छन।प्रेमको नाउँमा हजारौँ छोरीहरु बम्बई र दिल्लिका कोठिभित्र गुम्सिएका छ्न।मुक्तिको चीत्कार गुन्जाईरहेका छन ,सुन्ने कस्ले??
चाहिएको छ आफ्नै बाबुलाई छोरी बेचिएको पैसा।आफ्नै दाईलाई बहिनीको दलाल ,आफ्नै आमालाई छोरीको देहब्यापारको फाइदा ।यस्तै फाइदा र बेफाइदाको खेलौना बनेको छ प्रेम।एस्तो पनि कहिँ प्रेम हुन्छ?जे गर्नु हुदैन भन्यो त्यही गरीन्छ ,जे नहुनु पर्ने हो तेहि भैदिन्छ,सोचेको भन्दा ठिक उल्टो भैदिन्छ,प्रेम भित्र पनि तिका तिखा काँडा हुन्छ्न ठूला ठूला खोँचहरु हुन्छ्न। यो केवल दुना टपरी ,भोज भतेर जस्तो सस्तो कुरा मात्रै होइन तर यहाँ तेहि छ।यसरी यो मानिसको सुखदुखको साथिलाई भुच्चकहरुले फाइदा र बेफाइदाको जड बनाएका छन।निश्चल माया र प्रेमका सागरहरुलाई तृष्णाको पौडी खेल्ने पोखरी बनाएका छन।अनि त्यही पोखरीमा पौडी खेल्दा खेल्दै ढाडिएर रगत पिएको जुका झैं उकुस मुकुस भएका छन।जब लखतरान हुन्छन अनि चुस्ने चुसक र चुसाउने चुसेराहरु अनकन्टार छाँगोमा ढलमलिन्छ्न। बल्ल थाहा हुन्छ वास्तविक जिन्दगी।यदि प्रेमको सहि सदुपयोग हुने हो भने आशातीत मानव जीवन अबश्य हुने थियो।कसैको जिन्दगीमा जसले बास्ले बास्तबिक बुझ्दैन त्यसलाई यो प्रेमले द्विबिधात्मक बनाइदिएको छ।

जे होस जिन्दगी र प्रेम एक आर्काको पुरक बस्तु हुन।यो संसार नै मायारुपी जालभित्र अल्झेको छ ।जता माया हुन्छ तेता नै जिन्दगी मोडिन्छ।
माया नै मायाको यो जालोभित्र परे पछि  मानवको स्वभाव प्रकृति ,रहनसहन बोलिचाली,ब्यबहरहरु नै आदि अनौठा किसिमका हुन्छन।यो जालका लहराहरु पनि दर्बिला हुन्छन कि यसले टनटनी कसेर वाक्क र दिक्क पार्छन।प्रत्येक प्रकृया यानिकि क्षण क्षणमा मायाका विभिन्न रुपले जिन्दगीका दोबाटो र चौबाटोहरुलाई मृत्युशैयाको गोरेटोमा रबर झैं तन्काउने र खुम्च्याउने गरीरहेका हुन्छन।
माया बिनाका जीवनहरु बिधुर झैं उराठलाग्दो र बिसंगतिपूर्ण हुन्छन।जति उदाहरण दिए पनि माया माया नै हो र जीवन जीवन नै। फरक यतिमत्र हो कि यिनीहरु हामिलाई थाहा नभईकन नै प्रकृयागत भएका हुन्छ्न र संसारीक बन्धनमा नजरबन्धित हुन्छन।भोको मान्छेलाई मात्रै थाहा हुन्छ भोक के हो भनेर अघाएको पेटलाई होइन।हामी पनी आफूसित भएको यो दमित भावनालाई उजागर गरेर बहुमूल्य मानव जीवनलाई सफल बनाउन सक्छौ र जिन्दगीका हरपलहरु सुखमय आनन्दित र सोचेजस्तो बनाउन सक्छौ भन्दा अत्युक्ति नहोला भन्ने लाग्यो,लाग्दैछ,र लाग्नेछ भन्ने आशा छ। आमाले आफ्ना काखमा राखेर प्रेमको स्तनपान गराइरँदा तिनका छोराछोरीले त्यही काखमा दिशापिसाब गरेर हैरान पार्दछन् तापनि आमाको हृदयमा कहिल्यै घृणा र प्रतिशोधको भाव पैदा हुँदैन ।

यो निस्वार्थ र निरपेक्षता नै प्रेमको खास परिचय हो ।
छोराछोरीहरु हुर्केर ठूलाबडा हुन्छन् । उनीहरुको बिहेबारी सम्पन्न हुन्छ । तिनै छोराछोरी बाबुआमामा परिणत हुन्छन् तापनि आमाले उनीहरुलाई गर्ने स्नेह केटाकेटी अवस्थाको जस्तै हुन्छ । छोराछोरी हुर्केबढे पनि आखिर ती आमाका लागि केटाकेटी नै हुन् । आमाको हृदयमा छोराछोरीप्रति जुन प्रेमभाव छ त्यो नित्य एकनाश छ, निस्वार्थ र ममतापूर्ण छ । त्यसैले सन्ततिप्रतिको आमाको मातृत्व अनन्य प्रेमको दिव्य उहाहण हो ।
अन्त्यमा सबै प्रेमिल आत्माहरुको लागि एउटा कवीता
हामी सतहमा उभिएका छौ,
मोती बटुल्न सतह मूनि पुग्नु पर्छ !
हामी ढोकामै पर्खि बसेका छौ,
प्रेम चिन्न धडकन भित्र छिर्नु पर्छ !!
पुस्तक किनेर मात्र
अनि थुपारेर,
ज्ञान लिन सकिन्न !
पानाहरूको दानाहरूलाई
एक एक गरेर,
चपाएर निल्नु पर्छ !!
अक्षरहरू पढेर मात्र
जीवनका उतार चढावहरू
र वास्तविकताहरूलाई,
नाप्न सकिन्न !
पलहरू र क्षणहरूका
सागरमा डुबुल्की लगाएर,
जीवनका पक्षहरूलाई
नियाल्नु पर्छ र
आभाष गर्नु पर्छ ।। यहि अन्तिम सत्यको नाम हो
`प्रेम´

Facebook Comments
  • मुख्य