रामेछाप। बलात्कारको आरोपमा रामेछापमा नेकपाका एक नेता पक्राउ परेका छन्। रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवार १३ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेतासमेत रहेका सुनुवारले गाउँकै १३ वर्षीयालाई फकाई गएको मंसिर २ गते बलात्कार गरेको आरोप लागेको छ। आफूमाथि पटक-पटक बलात्कारको प्रयास गरेपछि ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाइन्।

घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि उनकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी गरेकी थिइन् । वाम्ती प्रहरी चौकीले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो। प्रहरीले सुनुवारलाई उनकै घरबाट सोमवार नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार ‘स्वास्थ्य परीक्षणमा सुनुवारले बलात्कार गरेको रिर्पोट आएको छ। उनलाई जबर्जस्ती करणी उद्योग  अन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर थप भइरहेको छ।लोकपाटी बाट