काठमाडौं  राष्ट्रपतिसामु शपथ खाँदा मात्र होइन, चिनियाँ राष्ट्रपतिको स्वातगमा प्रधानमन्त्रीको निर्देशन विपरीत सर्ट–पाइन्टमा उपस्थित गृहमन्त्री बादल पहिलोपटक दौरा–सुरुवालमा देखिएका छन् ।

गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् । सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् ।

तर, दुर्भाग्य १ नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो । खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा। युवराज खतिवडाले दौरा–सुरुवाल अस्वीकार गरेका छन् । उनले सागको नाममा भएको खर्च विवरण हेरेर अनियमिततालाई अस्वीकार गर्न अर्थका अधिकारीहरूसँग संक्षिप्त अनौपचारिक छलफल पनि गरेका छन् ।

आयोजना र व्यवस्थापनका लागि सरकारले पौने चार अर्ब रकम विनियोजन गरेको छ । यो रकमबाट नेपालसहित दक्षिण एसियाका सात राष्ट्रका खेलाडी, प्रशिक्षक, प्राविधिक र प्रतिनिधि गरी झन्डै ६ हजार सहभागीको नेपाल बसाइ व्यवस्थापन हुनेछ । यही रकमबाट नेपाली खेलाडीको तयारी पनि गर्नुपर्नेछ । तर, आर्थिक रूपले पनि आफ्नो पोसाक आफैं व्यवस्था गर्न सक्ने विशिष्ट व्यक्तिहरूले खेलकुदका लागि आएको रकमबाट एक–एक जोर कपडा जोडेका छन् ।

राखेपले भने मन्त्रीहरूलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । ‘हामीले साग आयोजनाका लागि गठित उच्चस्तरीय निर्देशन समितिमा रहनुभएका सबै पदाधिकारीलाई कोटसहितको पोसाक दिएका हौँ,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले भने ।

१३औँ सागअन्तर्गत गठित खेल सामग्री, उपकरण तथा पोसाक व्यवस्थापन समितिका सचिव बज्र केसीले उच्चस्तरीय निर्देशन समितिका सदस्यदेखि खेलाडी र सबैका लागि पोसाक सिलाउने ठेक्का श्रीनाथ कलेक्सनलाई दिएको जानकारी दिए । उनले भने, ‘सबैको पोसाक सिलाउने ठेक्का श्रीनाथ कलेक्सनलाई दिएको हो । सिलाउने काम अझै सकिएको छैन । धमाधम हुँदै छ ।’

राष्ट्रिय पोसाक लगाउने घडी अर्थात् उद्घाटन भने सम्पन्न भइसकेको छ । अब भने खेलाडी आ–आफ्ना खेलका जर्सी लगाएर मैदानमा उत्रिसकेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।