(फाइल फोटो)

हङकङमा आज जिल्ला परिषद्को निर्वाचन हुँदैछ। सरकारविरुद्धको आन्दोलन चर्की  रहँदा यहाँ निर्वाचन हुन लागेको हो।

निर्वाचनका क्रममा हुनसक्ने खतरालाई मध्यनजर गर्दै हङकङमा भारी सुरक्षाकर्मी तैनाथ गरिएको छ। आज बिहानै देखी  विभिन्न मतदान केन्द्रहरुमा पर्याप्त प्रहरीहरु परिचालन भएका छन्।

यसैहप्ता मात्र हङकङको प्रहरी प्रमुख बनेका क्रिस ताङले त्रसित भएका मतदाताहरुलाई सुरक्षित महसुस गराउन धेरै सुरक्षाकर्मीहरु परिचालन गरिएको बताएका छन् ।

ताङले प्रहरीहरु विभिन्न स्थानमा खट्ने भएकाले कसैको डर, धम्की र हस्तक्षेपमा नपरी निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिन शुक्रबार नै आग्रह गरेका छन्।

ताङले भने,‘हिंसाले मानिसहरूलाई मतदान गर्नबाट बन्चित गर्न सक्छ, तर पर्याप्त प्रहरी परिचालन हुने भएकाले मतदाताहरूको सुरक्षा सुनिश्चित गर्न हामी सक्षम छौं। धेरै सुरक्षाकर्मीहरु परिचालन गरिनु भनेको मतदाता सुरक्षित छन् भन्ने विश्वास दिलाउनु पनि हो।’

कुनै किसिमको हिंसा भड्किए त्यसलाई तुरुन्त समाधान गर्ने पनि ताङले हङकङबासीलाई प्रतिबद्धता व्यक्त गरेका छन्।

आरटीएचकेका अनुसार मतदान केन्द्रहरुमा दंगा पोशाकसहित प्रहरीहरु तैनाथ हुनेछन्।

आज १८ जिल्लामा निर्वाचन हुँदैछ। ४ सय ५२ सिटका लागि एक हजार ९० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

६ महिनायता जारी सरकार विरोधी आन्दोलनका बिच हुन लागेको जिल्ला परिषद्को यस निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ।

आन्दोलनले निर्वाचनलाई प्रभावसमेत पारेको छ।यसपटक आन्दोलनलाई समर्थन गरिरहेका पार्टीले राम्रो नतिजा ल्याउने अनुमान गरिएको छ।

हङकङमा रहेका नेपालीहरु समेत यस चुनावमा सक्रिय छन्। धेरै जसो नेपालीहरुले बेजिङ समर्थक पार्टी डीएबीसँग आवद्ध छन्।

केही नेपालीहरु भने सामाजिक सन्जालमार्फत आन्दोलनकारीको पक्षमा समेत देखिएका छन् ।