फाइल तस्बिर
काठमाडौं ।   हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् ।

जीवनमा जानी वा नजानी गरिएका कुकर्म र  पापबाट मुक्त हुने विश्वासका साथ  बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ । ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् ।

पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे  तर हिजोआज युवा र  बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसिरहेका छन् । न्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुखशान्ति हुने विश्वास छ।