काठमाडौं । नेपाल राष्ट्र बैंकले यहि असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् ।

एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँमा राष्ट्र बैंकसहित सबै सरकारी बैंकका शाखा र नीजि बैंकका शाखासमेतबाट नयाँ नोट लिन सकिने छ ।

काठमाण्डौँ उपत्यकाका लागी नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट साट्न सकिनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

उपत्याकाबाहिर भने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।