काठमाडौँ । मन्टेश्वरी तथा प्रि- स्कुलहरुको छाता संगठन (अपेन) को गोकर्णेश्वर नगर समिति गठन भएको छ। शनिबार राजधानीको बौद्ध स्थित ए-वान क्याफेमा आयोजित एक कार्यक्रमका बिच नगरपालिका भित्रका सम्पूर्ण प्रि स्कुलहरूलाई समेट्दै समिति गठन भएको हो।

करिब २० वटा मन्टेश्वरी स्कुलका सञ्चालक तथा प्रतिनिधि सम्मिलित भेलाले प्रकाश अधिकारीलाई गोकर्णेश्वर नगर समितिको संयोजक चुनेको छ। त्यस्तै भावना भट्ट उपाध्यक्ष र लक्ष्मी पुडासैनी सचिव र शुष्मा ठकुरी कोषाध्यक्ष बनेकी छिन्। भेलाले सन्तोष श्रेष्ठ लाई सहसचिव, प्रतिमा श्रेष्ठ लाई सदस्य र रबिन गिरी लाई सल्लाहकार चुनेको छ।

नवनिर्वाचित अध्यक्ष प्रकाश अधिकारीले आफूले सधैँ नगरपालिका भित्रका मन्टेश्वरी स्कुलहरुको समस्या लाई सम्बन्धित निकायमा पुर्‍याउन प्रयास गर्ने बताए।  उनले  संस्थाको हितमा सधैँ क्रियाशील हुने समेत बताए।

अपेनले पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै स-साना बालबालिकाको प्रतिभा विकास र प्रोत्साहन गर्ने, शिक्षक कर्मचारीलाई सम्मान गर्ने आदि विभिन्न गतिविधिहरू गर्दै आएको छ।