कैलाली । आफ्नै पतिको हत्या गरेको आरोपमा प्रहरीले पत्नी र उनको प्रेमीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय विष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। ।

अमृता र विष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएको र शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा विष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची हत्या गरेको र शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।