काठमाडौं । अफगानिस्तानको पूर्वी शहर जलालबादलाई कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । चारैतिरबाट तालिबान लडाकु प्रवेश गरेको गृह मन्त्रालयका एक उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।

एक साता पहिला मात्र तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।  राष्ट्रपति असर्फ घानी र उनका उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेका छन्।

आफगानी सेना तथा वरिष्ठ अधिकारीले आत्मसमर्पण गर्दै तालिबानलाई आफ्नो सहर सुम्पिरहेका छन् । आइतबार मात्र पनि नान्गरहार प्रान्तका गभर्नरले आत्मसमर्पण गरे, जसका कारण तालिबानले जलालबादलाई विना युद्ध नियन्त्रणमा लिएको थियो ।

२० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबानको पुनरोदयको सुरुवात २०१९ लाई मानिएको छ ।

त्यसअघिसम्म तालिबानले सरकारी र विदेशी सेनामाथि आक्रमण गरे पनि मुलुकका अधिकांश भूभाग र प्रान्तीय सहर अफगान सरकारकै नियन्त्रणमा थियो ।

कागजी रुपमा अफगानिस्तानमा सेना र प्रहरीको संख्या तीन लाखभन्दा धेरै छ । तर यो संख्या वास्तविकतामा भने कम हुनसक्ने जानकारहरुको भनाइ छ । युद्धमा ठूलो संख्यामा सैनिकको मृत्यु भएको, धेरैले सेवा छाडेको र चरम भ्रष्टाचार भएकाले सरकारी सैनिकको संख्या धेरै देखिएको उनीहरुको भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नै तालिबानलाई वार्ताको निम्तो दिए र २०१९ को सेप्टेम्बरको पहिलो साता सहमति भयो । यद्यपि सम्झौतामा हस्ताक्षर भने २०२० को फेब्रुअरीमा भएको थियो । कतारको दोहामा भएको सहमतिमा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक मे २०२१ सम्म फिर्ता लैजाने उल्लेख गरिएको थियो । त्यसअनुसार ट्रम्पले आफ्नो शासनकालमा अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५०० मा झारेका थिए ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जनवरीमा कार्यभार सम्हाले । बाइडनले तालिबानसँग भएको शान्ति सम्झौतालाई निरन्तरता दिने, तर अफगानिस्तानमा रहेका सैनिकहरुलाई सेप्टेम्बरसम्म मात्र फिर्ता लगिसक्ने निर्णय गरे ।

उनी अमेरिकाले वार्ताका लागि निम्तो दिएदेखि तालिबान शक्तिमा आएको मान्छन् । ‘जब म राष्ट्रपति बनेँ, मेरोसामु अर्को बाटो थिएन । हामीसँग आफ्नो र सहयोगी मुलुकका सेनालाई त्यहाँबाट सुरक्षित निकाल्ने चुनौती थियो,’ उनले भनेका छन् ।

अमेरिकी सेनाले २ जुलाईमा अफगानिस्तानको सबैभन्दा ठूलो एयरबेस बग्राम छाड्यो । तालिबान फेरि अगाडि बढ्नुको मुख्य कारण अमेरिकी सेनाले बग्राम एयरबेस छोड्नुलाई मानिएको छ ।

किनकी अमेरिकासँग शान्ति सम्झौताका बाबजुद अफगाने सेनामाथि आक्रमण गर्दै आएको तालिबानले महत्वपूर्ण भू-भागलाई भने कब्जामा लिन सकेको थिएन । तर जब अमेरिकी सेनाले रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिएको बग्राम एयरबेस छाड्यो, तालिबान आक्रामक रुपमा अघि बढ्यो । एक साता नविग्दै पश्चिमी क्षेत्रमा रहेको प्रान्तीय राजधानी काला-ए-न मा आक्रमण गर्‍यो । जुलाई २१ मा तालिबाले अन्तर्राष्ट्रिय सीमा जोडिएका महत्वपूर्ण भूभाग आफ्नो कब्जामा लियो । सुरुमा उसले ताजिकिस्तान र उज्वेकिस्तानसँग सीमा जोडिएको क्षेत्रलाई आफ्नो नियन्त्रणमा लियो । पाकिस्तानसँग सीमा जोडिएको सहर स्पीनबोल्डक कब्जा गर्‍यो ।

अमेरिकी सेनाले बग्राम एयरबेस छाडेको एक महिनापछि अगष्ट ६ मा तालिबानले पहिलोपटक निम्रुज प्रान्तको जारन्ज सहरलाई नियन्त्रणमा लियो । त्यसयता निरन्तर उसले एकपछि अर्को प्रान्तीय राजधानीमा कब्जा जमाएको छ । पछिल्लो १० दिनमा मात्र तालिबानले मुलुकको दुई तिहाइभन्दा धेरै प्रान्तीय राजधानी नियन्त्रणमा लियो । अमेरिकी सेनाले बग्राम एयसबेस छाडेको ४५ दिनै अफगानिस्तानको अधिकांश भू-भागमा कब्जा जमाएको छ ।

जबकी एक महिनाअघिसम्म सबै प्रान्तीय राजधानी अफगानिस्तान सरकारको कब्जामा थियो ।