ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रका बासिन्दाको पुर्ख्याैली पेशाको रुपमा रहेको याक तथा चौंरीपालन हराउँदै गएको छ । चरन क्षेत्रको अभावसँगै पछिल्लो समय बर्सेनि वन्यजन्तुले आक्रमण गरेर क्षति पु¥याउन थालेपछि याक तथा चौंरीपालन पेशा हराउँदै गएको हो ।

हिजोआज हिमाली क्षेत्रका बासिन्दाले पुख्र्यौली पेशा याक तथा चौंरीपालन छोडेर वैकल्पिक पेशा अँगाल्न थालेका छन् । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा पुस्तान्तरण हुने अर्थात अभिभावकले आफ्ना सन्ततिलाई पैतृक सम्पत्तिकै रुपमा भाग लगाएर याक र चौंरी पालन दिने गरिएकोमा अहिले यो पेशा हराउँदै गएको हो । चरनक्षेत्र अभाव र जङ्गली जनावरको आक्रमणकै कारण गोठ राख्न छोडिएपछि याक÷चौंरी पालन हराउँदै गएको स्थानीयले बताएका छन् ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप घुन्साका पेमा शेर्पाले पुर्ख्याैली पेशा चौरी र याक गोठ पालन रहेकोमा अहिले छोडेको बताउनुभयो । शेर्पाका अनुसार पैतृक सम्पत्तिको रुपमा सुरुमा २० वटा याक उहाँले पाउनुभएको थियो । उक्त सङ्ख्यामा याक थप गरेर ४५ वटासम्म पु¥याएर गोठ पाल्दै आएकोमा हाल चराउने ठाउँ नभएको र जङ्गली जनावरले मार्न थालेपछि घाटा भएकाले पेशा छोडेको उहाँले बताउनुभयो ।
शेर्पाका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्र स्थापना भएदेखि नै वन÷जङ्गलको संरक्षण हुन थालेको र वनमा जङ्गली जनावर बढ्न थालेपछि पशुपालनमा समस्या आउँदै गएको हो ।
वन जङ्गलको संरक्षणका कारण जताभावी गोठ राख्न वा चरन क्षेत्रको रुपमा प्रयोगन गर्न नपाइने भएको र जङ्गली जनावरको आक्रमणबाट ठूलो क्षति हुन थालेपछि याक तथा चौंरीपालन छोड्नुपर्ने बाध्यता बनेको हिमाली क्षेत्रका बासिन्दाको भनाइ छ ।
वन्यजन्तुको शिकार गर्न नपाउने भएपछि वन्यजन्तुको सङ्ख्यो बढेको र वन्यजन्तुले घर बालुवा पशुचौपायामा आक्रमण गरेर दिन प्रतिदिन क्षति पु¥याउन थालेकाले चौंरी र याक गोठ बेच्न बाध्य हुनुपरेको पेमा शेर्पाले बताउनुभयो ।
पुर्ख्याैली पेशा याक चौंरी पालन छोडेर अहिले गेष्ट हाउस सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस्तै घुन्साकै टाँसीतेन्जी शेर्पाले पनि पुर्ख्याैली पेशा छोडेर होटल तथा गेष्टहाउस व्यवसाय सञ्चालन गर्न थाल्नुभएको छ ।
फलेका लाक्पा भोटियाले केहीवर्ष अगाडिसम्म ५० वटा चौंरी र याकको गोठ पाल्नुभएको थियो । संरक्षण क्षेत्रमा हिउँ चितुवा, ब्वाँसो, भालु, चितुवाजस्ता वन्यजन्तु फैलिँदै गएर चौंरी र याक मार्न थालेपछि गोठ बेच्न बाध्य भएको भोटियाले बताउनुभयो । उहाँले केही फम्जो (भारी बोक्ने याक) मात्र राखेर बाँकी सबै तिब्बतका व्यवसायीलाई बिक्री गरेको जानकारी दिनुभयो ।
यसरी नै कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिकाको ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा, फले, ग्याब्ला लगायत हिमाली गाउँका अधिकांश बासिन्दाले पुख्र्यौली पेशा याक तथा चौंरी पालन छोड्दै लगेका छन् ।
उनीहरुले चरनक्षेत्र अभाव र जङ्गली जनावरले पशुचौपाया मार्ने गरेका कारण ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएपछि गोठपालन छोड्न बाध्य भएको बताउँछन् । हाल गोठ राख्न छोडेपछि हिमाली क्षेत्रका बासिन्दाको पुख्र्यौली पेशाको रुपमा रहेको याक तथा चौंरी पालन पेशा हराउँदै गएको हो । केही परिवारले भने सीमित सङ्ख्यामा याक तथा चौंरीपालन पेशा अँगाल्दै आएका बताइएको छ ।
हिमाली क्षेत्रमा अन्य पेशा अर्थात खेतीपाती नहुने हुँदा यहाँका बासिन्दाले पशुपालन, जडीबुटी सङ्कलन लगायतका पेशा गर्ने गर्दछन् । एउटा याकको मूल्य ६० देखि ८० हजार रुपियाँसम्म पर्ने हुँदा वन्यजन्तुले मारेमा वा क्षति गरेमा ठूलो घाटा हुने स्थानीयको भनाइ छ । यता कञ्चनजघा संरक्षण क्षेत्रभित्र जङ्गली जनावर अर्थात हिउँ चितुवाले याक चौंरी मारेमा क्षतिपूर्तिबापत कञ्चनजङ्घा संरक्षण व्यवस्थापन परिषदले प्रतिगोटा आठ हजार रुपियाँ दिने गरेको जनाइएको छ । लाखौं रुपियाँको हाराहारी पर्ने वस्तुको क्षतिपूर्ति आठ हजार रुपियाँको कुनै अर्थ नहुने किसान बताउँछन् ।गोरखापत्र बाट