सप्तरी, राजविराज । स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा ११ औं अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता बिहीबारदेखी सप्तरीको तिलाठीमा सुरु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका १ स्थित विद्यालय प्राङ्गणमा सुरु भएको प्रतियोगिताको एक समारोहबीच प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उद्घाटन गरेका छन् ।

सरस्वती पूजनोत्सव तथा बसन्त पंचमीको मेलाको अवसर पारेर विगत ११ वर्षदेखी तिलाठीमा नियमित पूजा तथा मेला समितिद्वारा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिताको आयोजना गरिदै आएको छ । पंचायती व्यवस्था तथा राजतन्त्र बिरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका तिलाठी निवासी स्व. साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा आयोजित प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका २० महिला तथा ६२ पुरुष खेलाडी सहभागि छन् ।

गाउँपालिका, स्थानियवासी तथा नेपाल पर्यटन बोर्डको सहयोगमा संचालित प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले देशकै प्रतिष्ठा बढाउने खेलकुदमा लागेका खेलाडीहरुका लागि राज्य पक्षबाट उचित सुविधा र प्रोत्साहन दिन नसकिरहेको अवस्थामा पनि प्रदेश सरकारले खेलाडीहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम बनाएको जानकारी दिए ।

वडा अध्यक्ष दिनेश्वर मिश्रले परम्परागत रुपमा हुँदै आएको कुस्ती खेलप्रति अहिले पनि जनमानसमा निकै लोकप्रियता रहेको बताउँदै यस खेलका माध्यमले आफ्नो गाउँठाउँलाई चिनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन समेत मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस  टिकटकको रहरले परिक्षा रद्द, बोर्डद्वारा सूचना जारी

वडा अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्व. मिश्रकी आमा चपलादेवी, जिल्ला समनवय समितिका प्रमुख प्रभाकर यादव, जसपा प्रदेश २ का मुख्य सचिव शम्भु झालगायतको पनि उपस्थिति रहेको थियो ।

स्थानियवासीले स्व. मिश्रको योगदानलाई सम्झिदै राज्यले अविलम्ब उनलाई औपचारिक रुपमा सहिद घोषणा गरि सम्मान देखाउनु पर्ने माँग गरेका थिए ।

पहिलो दिन नेपाली पहलमानहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । विभिन्न तौल समूहमा पुरुषतर्फ ४ र महिलातर्फ एक प्रतिष्पर्धा भएकोमा पुरुषतर्फका सबै प्रतिष्पर्धा नेपाली पहलमानहरुले जितेका छन् । महिलातर्फ भएको एक खेलमा भने भारतीय खेलाडी बिजयी भएका छन् ।

उद्घाटन खेलमा नेपालका पारस यादव, अनुप, राहुल थापा र नरेशले क्रमशः भारतका दिलावर, सोनबिर, सुरज र सत्यनारायणलाई पराजित गरे । महिलातर्फ भने भारतकी निशाले भारतकै पुनमलाई पाखा लगाए ।
नेपाली पहलमानले भारतीय पहलमानलाई पराजित गर्दा हजारौं दर्शकले ताली बजाएर अभिबादन गरेका थिए । प्रतियोगिता चार दिनसम्म चल्ने आयोजक समितिले जनाएको छ ।राजधानी दैैैैनिक बाट