काठमाडौं । बिपि राजमार्ग अन्तर्गत सुनकोसी गाउपालिका, मुलकोटस्थित रिठ्ठेभिर भनिने ठाउँमा सडकको भित्ता नै भरि राखिएको ऐना र त्यही ऐना नै ऐनाहरुको बिच स्थापना गरिएको सेतीदेवीको मन्दिर सायद तपाई हामी सबैले यात्रा गर्दा देख्ने गर्छौ। सुन्दा कथा जस्तो लाग्ने यो देवीको बारे छुट्टै किम्बदन्ती रहेको छ। अन्जानमा बिपि राजमार्ग बनाउने क्रममा त्यहाँ नजिकै रहेको सेती देवीको सिला डोजरले खनेर भत्काइएकाले देवी रिसाइ उक्त ठाउमा पछि बिभिन्न समयमा यात्रुबाहक बस दुर्घटना भएर धेरैको ज्यान गएको भन्ने पनि तपाईं हामीले सुनेकै कुरा हो।

आजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा गोरेटो बाटो थियो । बाटो नजिकै एउटा ठुलो सालको रुख थियो । रुखमुनि सानो पोखरी थियो । जुन पोखरीबाट पानी आउथ्यो । स्थानीय मानिसलाई उक्त ठाउबाट पानी लैजान सजिलो हुन्थ्यो।
जब जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासिदियो । पोखरीमा देवी छन् भन्ने कुरा कसैलाई थाहा भएन, जहाँ पूजा आरधना गरिन्थ्यो। त्यसको केही समयपछि एउटी ८ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बासस्थान नै भत्कायौ, मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ । मेरो लागि कसैले पनि मन्दिर बनाइदिएनन् । जबसम्म मेरो नाममा मन्दिर बन्दैन तबसम्म म धेरै मान्छेहरुको भोग खान्छु भनिन् । जसबाट सो स्थान सबैको शरीर झसंग बनाउने स्थान बन्यो ।
स्थानीयहरुले त्यस कुरालाई त्यती वास्था गरेनन् । त्यसको केही समयपछि यात्रुवाहक बस सुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भयो । जसको आत्माले शान्ति पाओस् भनेर स्थानियले सप्ताह पनि लगाइदिए । ‘सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बोकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीय जानकारहरुको भनाई छ । देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो । बिस्तारै ऐनाले धेरै संख्या लिन पुगेको स्थानीयहरुको भनाई छ।
ऐनाको दृश्यमा भुतप्रेत आउन नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ । आजभोलि त्यस स्थानमा जाने जोकोहीले पनि ऐना टाँस्ने गर्दछन् । यात्रु होस् या सर्वसाधरण त्यस ठाउँमा पुगेपछि केही समय रोकिएर ढोग्ने गर्दछन् ।
बिपि राजमार्गको भित्तामा स्थापित सेतीदेवीको मन्दिर ब्यबस्थित रुपमा बनाउन सके अझ यस देवीको महिमालाई जोगाउन सकिने देखिन्छ ।यसतर्फ यस ठाउँका स्थानीय जनता ,जनप्रतिनिधि ,सरोकारवाला निकाय तथा यस मन्दिरप्रति आस्था राख्ने आम भक्तजनहरुले ध्यान दिनुपर्ने देखिन्छ।