काठमाडौँ । मिर्गौलाको डायलसिस गरिरहेका ललितपुरवासी ४४ वर्षीय व्यक्तिलाई कोरोना संक्रमण भयो । उनीबाट श्रीमतीलाई पनि संक्रमण सर्‍यो । ‘कडा रोगीलाई कोरोना भइहाल्यो भने मृत्यु नै हुन्छ’ भनेर सुन्दै आएका उनलाई आत्महत्याको सोच आउन थाल्यो ।

आफू संक्रमित भए पनि आफ्नो सेवामा खटिएका परिवारलाई रोग सार्नु नपरोस् भनेर दिनरात चिन्तामा डुबे, धेरै रात अनिँदो बसे । मनोसामाजिक परामर्श लिएपछि भने उनको मानसिक अवस्था अहिले स्थिर छ, नियमित उपचारमा छन् ।

साइकोसिस जस्तो कडा मानसिक रोगको उपचार गराइरहेका रामेछापका एक व्यक्ति लकडाउनमा तीन सय रुपैयाँको औषधि लिन १६ हजार भाडा तिरेर काठमाडौं आए । लकडाउनका कारण उनले लामो समय चिकित्सक भेट्न पाएनन् । उनको उपचारमा संलग्न मनोचिकित्सक डा. वासुदेव कार्कीका अनुसार अस्पताल पुग्न ढिलाइ र लकडाउनका कारण समयमा औषधि छुटेका कारण धेरै मानसिक बिरामीको रोग बल्झिएको छ । ‘लकडाउनका कारण बिरामीहरू नियमित उपचारमा आवश्यक परामर्शका लागि अस्पताल आएनन् ।

विशेषज्ञको प्रेस्क्रिप्सनबिना यो रोगको औषधि किन्न पाइँदैन,’ कार्कीले भने, ‘सामान्य औषधिका लागि पनि केन्द्र नै धाउनुपर्ने बाध्यताले उपचार छुट्यो, रोग बल्झियो ।’ साइकोसिस, बाइपोलार डिस्अर्डर र सिजोफ्रेनिया जस्ता कडाखाले मानसिक रोगी यस्ता समस्यामा परेको उनले बताए । बेरोजगारी, पारिवारिक कलह, मादक पदार्थ सेवनका समस्या भएकालाई कोरोना संक्रमणले मानसिक रोगी बनाउँदै लगेको कार्कीको भनाइ छ ।

उनका अनुसार लकडाउनमा घर बसेका बालबालिका, घरेलु हिंसा भोगेका किशोरी र महिला अनि मानसिक रोगको औषधि सेवन गरिरहेका बिरामीको औषधि छुटेका कारण पनि रोग बढेको छ । ‘फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले सुरक्षा सामग्री पाएनन्, कतिले तलबभत्ता पाएनन्,’ उनले भने, ‘यस्तो अवस्थामा उनीहरू दिग्दारी, निराशा र एन्जाइटी जस्ता समस्याबाट अझै गुज्रिरहेका छन् ।’

मानसिक रोग विशेषज्ञ डा.कमल गौतमका अनुसार कोरोना महामारीले संक्रमितभन्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अन्य वर्गलाई बढी मानसिक रूपमा गाँज्दै लगिरहेको छ । लकडाउनका कारण आर्थिक संकटमा परेका व्यापारी, निको भइसकेका पुराना मानसिक बिरामी, लागूऔषध प्रयोगकर्ता, घरेलु हिंसामा परेका महिला र बालबालिका, दीर्घरोगी र संक्रमितको उपचारमा खटिएका फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई महामारीले बढी मानसिक असर गरेको उनले बताए ।

‘महामारीले कतिलाई मानसिक रोगी बनायो भनेर देशव्यापी अध्ययन नभएकाले तथ्यांक छैन । मनोरोग विशेषज्ञ, सामाजिक अर्थशास्त्री, क्लिनिकल साइकोलोजिस्ट र सामुदायक मनोपरामर्शसँग हामीले गरेको अन्तर्वार्तालाई आधार मान्ने हो भने मानसिक समस्या र रोग बढेको देखिन्छ,’ उनले भने, ‘परामर्शका लागि राखिएका हटलाइनमा पनि धेरै फोन आइरहेका हुन्छन् र पहिलेभन्दा आत्महत्या दर पनि निकै बढेको छ ।’ उनका अनुसार संक्रमितहरूमा मानसिक रोगभन्दा पनि हतासिने, मरिहाल्छु कि भन्ने, फेरि संक्रमण हुन्छ कि, अरूलाई सार्छु कि भन्ने भावनात्मक सन्तुलनसँग सम्बन्धित समस्या बढी छन्, जसलाई सामान्य परामर्श र थेरापीबाट निको पार्न सकिन्छ ।

‘लकडाउनका कारण मान्छेहरू घरभित्रै सीमित भए । आर्थिक गतिविधि घटे । भेटघाट खुम्चिएपछि कुण्ठाहरू मनमै कैद भए,’ उनले भने, ‘यस्तै तनाव व्यवस्थापन गर्न नजान्ने, असहज परिस्थितिसँग जुध्न नसक्ने भएपछि रोग लाग्ने हो ।’ स्वास्थ्य संस्थाहरू पनि कोरोना संक्रमण नियन्त्रणतर्फ मात्रै केन्द्रित भएपछि मानसिक समस्या ओझेलमा परेको उनले बताए । यो क्षेत्रमा काम गर्न अब सरकारले ढिलो गर्न नहुने उनले बताए ।

‘मनोसामाजिक समस्या पहिचान गर्नका लागि गाउँगाउँमा तालिमप्राप्त जनशक्ति छन् । उनीहरूलाई खटाउन सकिन्छ,’ गौतमले सुझाए, ‘कति औषधि निःशुल्क छन्, ती औषधिबारे भनिदिने र सामान्य परामर्श गरिदिने मात्रै हो भने पनि धेरै हदसम्म समस्या सुल्झिन्छ ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार अघिल्ला वर्षहरूमा भन्दा कोरोना महामारीमा १९ प्रतिशतले आत्महत्या दर बढेको छ । आत्महत्या बढ्नुको मुख्य कारण कोरोना संक्रमण नै हो भनेर निष्कर्ष नभए पनि प्रत्यक्ष, अप्रत्यक्ष रूपमा महामारीले आत्महत्याको सोचविचार, योजना र प्रयास गरेको देखिएको मनोरोग विशेषज्ञ बताउँछन् ।कान्तिपुर बाट