मलाई उभ्याइएकोछ
परिवर्तको कक्षा कोठामा
म सोचिरहेकी छु
कहाँबाट चढौं परिवर्तनका खुड्किलाहरु ?

जहाँ छ
ह्वास्स गन्हाउने जात दूर्गन्ध
नदीहरू छन् रगताम्य
धर्मका गुण्डाहरू
कोर्रा बोकेर धर्म पालनाको
छ्याप छ्याप्ती गस्तीमा छन्
मानव बस्ती भित्र !

छुट्टाछुट्टै अर्थलागाउने
बेनाम थर बाडिएको छ मान्छेलाई
मान्छेलाई सग्लो बस्न दिइएको छैन
कतै टाउको मान्छे
कतै पाखुरा मान्छे
कतै कम्मर मान्छे
र कतै पैताला मान्छे बनाइएको छ !

खै मैले त कहिल्यै देखिन
दिमागमा गर्भाधान भएर
मुखबाट मान्छे जन्मेको
खै मैले कहिल्यै देखिन
ढाडमा गर्भाधान भएर
काँखीबाट बच्चा उम्रेको
खुट्टा बाट त झनै कल्पना समेत गर्न सकिन !

बिर्यको मसी र लिङ्गको कलमले
योनीको किताव र डिम्वहरूको पानामा
लेखिएको सुन्दर कविता हो मान्छे
र सबै मान्छेको रचना गर्भ एउटै हो
सबै मान्छेको श्रृष्टिद्वार एउटै हो
अनि कसरी फरकफरक अंगबाट
जन्मिन्छन् फरक फरक मान्छे ?

केही बर्ष यता मलाई घोकाइदै छ-
‘मानिस ठूलो दिलले हुन्छ जातले हुदैन!’
यहाँ दिल नै सानो ठूलो बाँडेपछि
सबैभन्दा दिलदार पनि एउटै जातको बनाइन्छ !

म त पैताला मान्छे
तिमी टाउको मान्छेको संसारमा
मेरो पैताला अस्तित्व
तिम्रो टाउको
तिम्रो पाखुरा
र तिम्रो पेट अड्याउने
म त छुद्र पैताला
म त शूद्र पैताला
तर याद गर श्रेष्ठ मान्छे
यो शूद्र पैतालाले टेक्न छोड्यो भने के हुन्छ ?
यो छुद्र पैताला बौलायो भने
तिम्रो टाउको कुन दिशामा यात्रा गर्छ ।