काठमाडौं । जेसिजले आयोजना गरेको राष्ट्रिय स्तरको महिला साइक्लिङ प्रतियोगितामा प्युठानकी हुमी बुढा मगर प्रथम भएकी छिन्। प्रतियोगितामा  बुढामगरले सात किलोमिटर ८०० मिटरको दूरी ४८ मिनेट २० सेकेन्डमा पार गरेकी थिइन्। प्रथम भएकी उनले १८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्।

यस्तै, निर्धारित दूरी ५१ मिनेट २९ सकेन्डमा पाँचथरकी इन्द्रकला नेम्बाङले पार गर्दै दोस्रो स्थान हासिल गरिन् भने ५४ मिनेट १० सेकेन्डमा सोलुखुम्बुकी मिङ्मा याङजी  शेर्पाले पार गरी तेस्रो स्थान हासिल गरेकी हुन्। उनीहरुले क्रमशः १२ हजार र ६ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन्।

लैङ्गिक हिंसाको १६ दिने अभियानअन्तर्गत महिलाको सहभागितामा साइक्लिङ प्रतियोगिता गरिएको हेटौंडा जेसिजका अध्यक्ष राजदेव बनियाँले बताए। साइक्लिङको रुट मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी पुलदेखि भीमफेदी गाउँपालिका हुँदै मकवानपुरगढी–५ मा पर्ने गुम्बाडाँडासम्मको ७ दशमलव ८ किलोमिटर रहेको थियो।  प्रतियोगितामा देशभरका १३ जनाको सहभागी रहेको थियो।