काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता करातेकी अनुपमा मगर र उनकै गुरु ध्रुबविक्रम मल्लबीच विवाह सम्पन्न भएको छ ।

लामो प्रेम सम्बन्धपछि परिवार, साथीभाई र शुभेच्छुकहरुको सल्लाह बमोजिम विवाहमा परिणत गरिएको मल्लले बताए । ‘धेरै वर्षसम्म पनि विवाह नगर्ने विचारमा थिए । पछि परिस्थिति त्यस्तै बन्दै गयो,’ ५१ वर्षे मल्लले भने, ‘धेरैलाई सफल खेलाडी बनाइस्। सहारा बनिस् अब आफ्नो पनि कोहि सहारा हुनुपर्छ भन्ने सल्लाह मलाई ठीकै लाग्यो । अनि हामी विवाह गर्ने निर्णयमा पुग्यौं ।’

कारोनाका कारण सिमित व्यक्तिहरुको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह सम्पन्न भएको छ । ३० वर्षे अनुपमा मल्ल अध्यक्ष रहेको बालाजु कराते डो एकेडेमीकी उत्पादन हुन् । सात वर्षदेखि उनी एकेडेमीकै होस्टलमा बस्दै आएकी छिन् ।

अनुपमा र चर्चित अल्ट्रा धाविका मिरा राई तत्कालिन माओवादी जन सेनाको क्यान्टोमेन्टबाट छनौंट गरेर मल्लले काठमाडौं ल्याएका थिए । जन सेनाको सातै डिभिजनमा गएर खेलाडी खोज्ने क्रममा सिन्धुली क्याम्पबाट मैले अनुपमा र मिरालाई छनोट गरेको थिए, मल्लले स्मरण गरे, ‘अहिले दुवै आ–आफ्नो क्षेत्रमा सफल भएका छन् । खुसी लाग्छ ।’

अनुपमा र मिराले सुरुमा एकेडेमीमा कराते प्रशिक्षण गरेका थिए । अनुपमाले करातेमै निरन्तरता दिइन भने मिरा अल्ट्राको सफल खेलाडी बनिन् । अहिले पनि अनुपमा, मिरा, अल्ट्रा धाविका सुनमाया बुढासहित ११ खेलाडी एकेडेमीमा नै बस्दै आएको मल्लले जानकारी दिए ।

अनुपमाले गत वर्ष नेपालमा भएको १३औं सागमा ६८ केजीमुनि इन्डोनेसियामा २०१८ मा भएको एसियाली खेलकुदकी कास्य पदक विजेता पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्णपदक जितेकी थिइन् ।

मल्ल २०१४ को इन्चोन एसियाड गेम्सका कास्य विजेता विमला तामाङकी समेत प्रशिक्षक हुन् । विमला पनि बालाजु कराते डो एकेडेमीकै उत्पादित खेलाडी हुन् । फोटो -अल्ट्रा धाबिका मिरा राइको फेसबुक वालबाट