दाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई बलियो बनाउन लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
शनिबार दाङको तुलसीपुरमा पार्टीका नेता कार्यकर्तासँगको भेटका क्रममा गौतमले भन्नुभयो, ‘पछिल्लो समयमा हाम्रो पार्टीभित्र केही समस्या देखिएका छन् । पार्टीभित्रका समस्या समाधान गर्दै एकतालाई बलियो बनाउन हामी लागिपरेका छौं । एउटा सिंगो र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छ । यसका लागि सबै तयार रहनुहोस् ।’
समाजवादको आधार तयार पार्न लाग्नुपर्ने बेलामा आन्तरिक समस्यामा पार्टी अल्झिनुले कार्यकर्तामा निराशा थपेको महसुस आफूलाई भइरहेको भन्दै राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गौतमले विवादलाई व्यवस्थापन गर्नतर्फ लागिपरेको बताउनुभयो । ‘समाजवादको आधार तयार पार्नुपर्ने बेला हाम्रो पार्टी आन्तरिक समस्यामा अल्झिरहेको छ । जसले सबैमा निराशा थपेको महसुस भइरहेको छ’, उपाध्यक्ष गौतमले भन्नुभयो, ‘पार्टीलाई विवादरहित बनाउन हामी लागिपरेका छौं । सहमतिको बिन्दु खाेज्ने हाम्रो प्रयत्न जारी छ ।’
कम्युनिष्ट पार्टीका बीचको एकता, समृद्ध नेपालदेखि समाजवादसम्मको परिकल्पनामा आफू २०६३ सालदेखि लागिरहेको दावी गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘बलियो कम्युनिष्ट पार्टी बनाउने र मुलुकलाई समाजवादसम्म पु¥याउने संकल्पमा म २०६३ सालदेखि लागिपरेको हुँ । लामो छलफलपछि पार्टी एकता सम्भव भएकाले जुटेको पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं । फुटलाई जुटमा बदल्न लागिरहने मेरो संकल्प छ ।’
आफू कुनै गुटबन्दीमा नलागेको दाबी गर्दै उपाध्यक्ष गौतमले सधैँ पार्टी एकताको पक्षमा उभिने बताउनुभयो । ‘म कहिले पनि गुटको पक्षमा थिइन र आज पनि छैन । म सधैँ एकताको पक्षमा उभिने छु’, गौतमले भन्नुभयो, ‘पार्टी नेतृत्वलाई जुटको यात्रामा लाग्न सबैले अपिल गर्नुपर्दछ ।’ सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भीरताका साथ लाग्न सुझाव दिनुभएको थियो ।गोरखापत्रबाट