वीरेठाँटी–घोरेपानी पदमार्गमा सडक बनेपछि वैकल्पिक पदमार्गका रुपमा नयाँपुल–भमरकोट–घोरेपानी पदमार्गलाई विकास गर्न लागिएको हो ।

कास्कीको नयाँपुलदेखि पर्वतको देउपुर, भमरकोट हुँदै जलजला, मृगसरोवरबाट घोरेपानी पुग्ने पदमार्ग २८ किलोमिटर लामो हुनेछ । वैकल्पिक पदमार्गको १७ किलोमिटरभन्दा बढी खण्ड पूरा भएको छ भने बाँकी ११ किलोमिटर पदमार्ग निर्माण गर्न बजेटको अभावको छ ।

चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउँछ । यो पदमार्ग अन्नपूर्ण पदमार्गमा सबैभन्दा लोकप्रिय बन्ने विश्वास रहेको छ ।

देउपुरका इन्जिनियर मनबहादुर खड्काको अगुवाइमा देउपुर–भंवरकोट–घोडेपानी पदमार्ग निर्माण गर्न लागिएको हो । ‘अहिलेसम्म १७ किलोमिटर पदमार्गमा ढुंगाको सिँढी बनाउने काम भइसकेको छ’, उहाँले भन्नुभयो– ‘बाँकी आगामी वर्ष पूरा गर्ने लक्ष्य हो तर संघ र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगरेका कारण सम्पन्न गर्न कठिन भएको छ ।’

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७० लाखको बजेटबाट २ वर्षअघि निर्माणको काम थालिएको थियो । गत आवमा संघ सरकारको समेत १० लाख रुपियाँ बजेट पदमार्गमा खर्च भएको छ ।

घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमालसहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ ।

‘भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सकिने देखिएको छ’, पदमार्गमा एक रात बिताएर फर्कनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भन्नुभयो– ‘यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ ।’ पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउन आवश्यक भएकाले आफूले निरन्तर समन्वय गरिरहेको उहाँको भनाइ छ ।

तिमिल्सिनासँगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीलगायतको टोली एक रात जंगलमै बास बसी पदमार्गको अवलोकन गरेको थियोे । बिहानको सूर्योदय र बेलुकाको सूर्यास्तसँगै टोलीले ३१ सय मिटर उचाइमा रहेको माटेसम्म अवलोकन गरेको थियो ।

भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँहरु भूकदेउराली, ताङ्गले, लप्सीबोट, देउपुर, पूर्णगाउँ, लेस्पार, घुरुङ्गालगायतका ठाउँमा घरबास सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन आवश्यक देखिएको छ ।नेपाल समचारपत्रबाट