रसुवा । हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ । त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।  उच्च भागमा चिसोपन बढ्न थालेसंँगै  जंगली जनावर बेसीँ झर्नेक्रम शुरू भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक  सरोज गिरीका अनुसार जंगलमा वस्तु चराउने क्रममा  जंगली भालुले एक व्यक्तिलाई आक्रमण गरिसकेका कारण यस्ता घटना न्यूनीकरणका लागि पूर्वसावधानी रहन सबैमा अनुरोध गरिएको छ । यसरी भालुको आक्रमणबाट घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का ३५ वर्षीय पासाङवाङ्दी तामाङ छन् । उनलाई गोसाइँकुण्ड धार्मिक मार्ग अन्तर्गत देउराली जंगलमा भालुले हालै आक्रमण गरी घाइते बनाएको बताइएको छ ।

भालु, चितुवा, बँदेललगायतका जनावर आगामी फागुनसम्म  बेसीँतर्फको न्यानो क्षेत्रमा ओर्लने ज्येष्ठ नागरिक  बताउँछन् । गत आर्थिक वर्षमा जंगली भालुको आक्रमणबाट १० जना घाइते भएका थिए ।  उनीहरूलाई सरकारी कोषबाट उपचार खर्चबापत  सरकारी अस्पतालको सिफारिसका आधारमा रकम प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।रासस