तनहुँ,  । तनहुँको व्यासनगरपालिका–११ पोल्याङ्का यातयात व्यवसायी कृष्णप्रसाद पौडेलले यतिबेला व्यावसायिक कृषक बन्नुभएको छ । व्यासभूमि यातायात व्यावसायी समितिमा सञ्चालक समितिको सदस्य रहनु भएका पौडेललाई कोरोना भाइरसको सङ्क्रमणले यातयात व्यवसायबाट घाटा भएपछि रहरे पालेको टर्की व्यवसायिक बनाउनुभएको छ । पौडेल र उहाँको श्रीमती शोभा दुई जना मिलेर टर्की पालनलाई व्यावसायिक बनाउनुभएको हो ।
५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यसक्षेत्रका बासिन्दाहरु यसतर्फ आर्कर्षित हुदै गएका हुन् । टर्की व्यवसाय सञ्चालनको लागि सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप दश वटा देखि ७० वटा सम्म टर्की पाल्न थालेको पौडेलले जानकारी दिनुभयो । लोकल कुखुरा र बट्टाई पाल्दै आउनुभएका पौडेलले टर्कीसम्बन्धी तालिम लिएपछि टर्की पाल्न शुरु गर्नुभएको थियो । टर्कीको मासु प्रतिकिलो रु.एक हजारमा बिक्री हुने शोभाले जानकारी दिनुभयो । बुटवलबाट मगाएर टर्की पालन शुरु गरेको उहाँेल जानकारी दिनुभयो । शोभाका अनुसार टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरा लगायतका नौ जातका महँगा र औषधीजन्य पन्छीहरु पाल्दै आए पनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उहाँले बताउनुभयो । एक दिने चल्लाको रु.तीन सय ५० देखि चार सय ५० सम्म मूल्य पर्ने र ६ महिनापछि खान योग्य हुने उहाँले बताउनुभयो ।
चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी मजबुत बनाउनुका साथै मुटु,सुगर प्रेसर लगायतका दीर्घकालिन रोगी सबै प्रकारका बिरामीले खान मिल्ने भएकोले यसको मासुको माग बढिरहेको पौडेलले जानकारी दिनुभयो ।
चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने,पाल्दा दुर्गन्ध नहुने र रोगले झ्वाट्ट आक्रमण नगर्ने भएकोले जोखिम पनि कम हुने हुँदा पोल्याङका बासिन्दाको त्यसतर्फ आकर्षण बढ्न पुगेको सोही ठाउँ निवासी शिक्षक लोकराज सेढाईले जानकारी दिनुभयो । पौडेलको सिको गर्दै अन्य १४ जनाले पनि टर्की पाल्ल्न थालेको उहाँले बताउनुभयो । तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकोले माग अनुरुप पूर्ति गर्न नसकिएको शोभा पौडेलले बताउनुभयो । ‘पाल्नको दुःख पनि छैन हाल आएर मासिक ५० हजार रुपियाँ मुनाफा भईरहेको छ फाल्टु समयको सदुपयोग पनि भएको छ कमाई पनि राम्रो छ ।’ शोभाले भन्नुभयो । भाटभटेनी लगायत ठुला ठुला होटलहरुमा यसको बढि माग हुने भएकोले टर्की पालनतर्फ आर्कर्षित भएका हौ । उहाँले भन्नुभयो । एक सय टर्की पाल्दा ६ महिनाको अवधिमा झण्डै रु.चार लाख सम्म कमाउन सकिने किसान पौडेल बताउनुहुन्छ । लोकल कुखुरा, खसीबोकाको तुलनामा टर्कीको मासुभन्दा स्वादिष्ट र फाइदाजनक रहेकोले सम्भव भए र पाएसम्म बुझ्ने मानिसहरुले टर्कीकै मासु खाने गरेका छन् ।
ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्रामसम्म तौल हुन्छ । उहाँले भन्नुभयो ‘शुरु शुरुमा त काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको छ ।’
गाउँघरमा सबैले टर्की पाल्न शुरु गरेपछि केही महिनाअघि आफुले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताउनुभयो । तीन महिना अघि देखि ल्याएर आफुले पहिलो पटक टर्की पाल्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रका थप २० घर परिवारले समेत टर्की पाल्नको लागि चल्ला माग गरिरहेको कृषक पौडेलले बताउनुभयो । कोरोनाले बन्दाबन्दी खुलेपछि पनि यात्रुहरु कम भएकोले घाटा भएको र टर्की पालनको आम्दानीबाट किस्ता तिर्ने गरेको पौडेलले बताउनुभयो ।गोरखापत्रबाट