हेटौँडा । मकवानपुरमा उत्पादित महको बजारमा अभाव देखिएको छ । कोभिड–१९ का कारण अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा महको माग उच्च छ । मकवानपुरमा सबैभन्दा बढी मह उत्पादन हुने क्षेत्रका रूपमा रहेको राक्सिराङ गाउँपालिका–६ बाट गत वर्ष सोचेजस्तो मह उत्पादन हुन नसकेको मौरीपालक किसान बताउँछन् ।
सिलिङ्गे क्षेत्रमा रहेका चिउरी फूलमा चराइएका मौरीले वार्षिक ७० टनभन्दा बढी उत्पादन दिने गरे पनि गत वर्ष मह उत्पादन हुने सिजनमा हावाहुरी र निरन्तर वर्षा भएकाले उत्पादन आधाभन्दा कम भएपछि बजारमा मह अभाव भएको जनचेतना कृषि सहकारी संस्था राक्सिराङका अध्यक्ष दिनेश चेपाङले बताउनुभयो । कोरोनाका कारण बजारमा महको माग बढ्नु र यही बेला मह उत्पादन घट्नुले मह बिक्रीको अवसर गुमेको छ, अध्यक्ष चेपाङले भन्नुभयो ।
उहाँका अनुसार मह उत्पादन सुरु हुने सिजन अर्थात् गत वर्षको मङ्सिर र पुसभर निरन्तर वर्षा र चिसो अत्यधिक बढेकाले मह उत्पादन हुन पाएन । सिजनमा उत्पादन हुने मह लोथर बजारमा रहेको मह सङ्कलन केन्द्रमा सङ्कलन गरी काठमाडौँ, झापा, बारा, बुटवललगायतका
सहरमा पु¥याउने गरिन्थ्यो ।
केन्द्रीय कृषि सहकारी सङ्घले प्रवद्र्धन गरेको बजार तथा साना किसान कृषि सहकारी संस्थाले स्थापना गरेका सहकारी पसलहरूमा सहज रूपमा वितरण हुँदै आएको मह यस वर्ष पु¥याउन नसकिएको अध्यक्ष चेपाङले बताउनुभयो । गत वर्ष ३० टनजति मात्रै मह उत्पादन भयो । त्यसमध्ये हाम्रै सहकारीले मात्र २५ टन जति खरिद गरेको थियो, अध्यक्ष चेपाङले भन्नुभयो, “अन्य वितरकले न्यून मात्रामा मह सङ्कलन गर्न पाए । ”
लोथरस्थित मह सङ्कलन केन्द्रमा मानिसहरू अहिले दैनिक मह खोज्न आइरहे पनि खुद्रासमेत बिक्री गर्न नसकिएको सहकारीले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ४५ टन मह सङ्कलन गरेको सहकारीले २०७६÷७७ मा जम्मा २५ टन मात्रै सङ्कलन गरेको जनाइएको छ ।
गत वर्षको मौसमी प्रतिकूलता कारण मकवानपुरसहित देशभर नै मह उत्पादन उत्साहजनक नरहेको नेपाल मौरीपालक महासङ्घका केन्द्रीय सचिवालय सदस्य गुणबहादुर लामाले बताउनुभयो । अबको २०÷२५ दिनपछि दाङबाट तोरीको मह उत्पादन हुनसक्छ, लामाले भन्नुभयो, “चिउरीकै मह उत्पादनका लागि मङ्सिरको तेस्रो साता पर्खनैपर्छ । ”
राक्सिराङ गाउँपालिका–६ स्थित सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र र व्यक्तिका जग्गामा चिउरी फुल्ने सिजन सुरु भएकाले यतिखेर मौरीपालक किसानले मौरी चराउन घार त्यसतर्फ लैजान थालेका छन् । स्थानीय मौरीपालक किसानकै ५५ सयवटा घार रहेकामा अन्य व्यावसायिक फार्मले समेत मौरी चराउन लैजाँदा १० हजार घर मौरी सिलिङ्गे सामुदायिक वन क्षेत्रमा पुग्ने राक्सिराङ गाउँपालिका–६ का वडाध्यक्ष सिङ्गलाल चेपाङ बताउनुहुन्छ ।
राक्सिराङको चिउरीको फूलमा आश्रित रही उत्पादन भएका मह अर्गानिक हुने भएकाले अन्य क्षेत्रमा उत्पादित महभन्दा बढी माग हुने गरेको नेपाल मौरीपालक महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा लालीगुराँस मौरीपालन उद्योगका सञ्चालक शालिकराम बानियाँ बताउनुहुन्छ । नेपालमा तोरीमा केन्द्रित रही दाङ जिल्लामा, रुदिलोमा केन्द्रित रही सर्लाही जिल्ला र चिउरीमा केन्द्रित रही मकवानपुरमा मह उत्पादन हुने गर्दछ । मकवानपुरमा उत्पादन हुने महबाटै किसानले दुई करोड रुपियाँ गाउँमा भित्र्याउने गरेको
बताइएको छ ।गोरखापत्र बाट