काठमाडौं । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत बढेन,’ संघका प्रथम उपध्यक्ष श्रय ढकालले भने

यो साताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको ढकालले बताए । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावल बताउँछन् । मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको उनले बताए ।

खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम् मासु व्यवसायी सक्षम घिमिरे बताउँछन् ।

चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएको तर बजारको खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको उनले बताए ।

‘मासु धेरै खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी पयालेस, होटल जस्ता कोभिड-१९ले बन्द हुँदा मासुको खपत निरासाजनक भयो,’ घिमिरेले भने ।

लकडाउन अवधिमा मासुको व्यापार राम्रै भएपनि दोस्रो पटकको निषेधाज्ञाले व्यापार चौपट भएको उनको दाबी छ । मासु खपतका लागि सरकारी योजना नभएको र महामारीकै बेला आइपरेको संकटले व्यवसायी पनि अन्योलमा परेको घिमिरेले बताए ।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।