दिउँसोको ३ बजेको थियो । बिहानै देखि बाट लगातार लामो झरी परिरहेको थियो । बाहिर निस्कने अप्सन नै थिएन । यो बर्खा ऋतुले झरी सङ्गै कहिल्यै नमेटिने नियास्रोपन पनि साथ ल्याउँदो रहेछ ।
यस्तो बेला मलाई आफ्नो नजिकै बातचित गर्ने कोहि साथिको कल्पना गर्न मन लाग्थ्यो । कोहि महिला साथी , जो सङ्ग कहिल्यै नछुटुने साथ रहोस् र कहिल्यै नटुङ्गिने संवाद बनोस् । यस्तो साथी, जो सङ्गको सामिप्यताको मिठास रहोस् र एक क्षणले सधैं भरी घच्घचाइरहने र कहिल्यै नमेटिने निकटताको बिम्ब प्रकाश जग्मगाओस् । हरेको क्षण त्यही बिम्ब मेरो आँखा अगाडि नाचोस् , गाओस् र मलाइ लोभ्याओस् ।
जे होस् सबैको याद मीठो होस् । कहिँकतै कुनै याद तितो नबनोस् र कुनै पछुतोको सितो नरहोस् ।
साधारण जिवनमा सम्भव होस् वा नहोस् , सोचे जस्तो माहौल जमोस् वा नजमोस् , र सम्भावनाको रेशा बचोस् वा नबचोस् ; कल्पनाको स्वाद हरकोहीलाई अत्यन्तै मीठो लाग्छ । कोहि सोधोस् मलाइ , सबै भन्दा बढी आनन्द के कार्य गर्नमा आउँछ ? , तब म नि:शङ्क भनिदिने थिए , – कल्पना गर्नमा ।
हुन त कल्पना भनेकै अभावको उपज हो । जे कुराको अभाव हुन्छ , त्यसैको कल्पना गरिन्छ । र जब कल्पनाले काम चल्दैन , त्यति खेर खन् खाँचोले काम चलाइन्छ । तर मेरो कल्पना प्रेमको थियो । खाँचोमा गरिनेलाइ स्वार्थ भनिन्छ, प्रेम भनिदैन । प्रेम अनादि हुन्छ । न त जन्म हुन्छ र न त अन्त्य नै । जे चिज को जन्म हुन्छ , त्यसको मरण वा अन्त्य पनि हुन्छ । यदि अन्त्य भयो भन त त्यो प्रेम नै रहेन नि । त्यसैले मलाइ कल्पना मात्र देख्नु थिएन । मलाई अभावमा हैन भावमा रमाउनु थियो । अरुको जोडि देख्दा हुने तापलाइ मात्र समेटेर बस्नु थिएन मलाई । जिवनमा नयाँ चित्र कोर्नु थियो । आफ्नो कहानी सुनौला पानामा उतार्नु थियो । नयाँ कलम समाउनु थियो र त्यसैको मसिले नयाँ संसारमा रङ्गिनु थियो ।
अहिले यस्ता कुराहरु पनि कल्पना नै त हो नि मेरो लागि । म यसलाई लक्ष्य भन्दिन । अहँ , भन्दै भन्दिन । खेर् , म पनि के भएको । डुब्दिन भन्दाभन्दै पनि कल्पनामा नै डुब्न पुगेछु । कल्पना त क्षणिक हुन्छ । क्षणभङ्गुर वस्तुको पछि लागेर बस्नु थिएन मलाई । किनकी मेरो जिवनमा तय गर्नु पर्ने यात्रा लामो थियो । अब संकुचित नभएर दुरदर्शि हुनु थियो मलाई । प्रेम त एउटा भिन्न पाटो भैहाल्यो । केही ठूलो सोच्नु थियो जिवनमा मलाई । आजै बाट सुनौला , कर्मशील र आदर्शको लक्ष्य बोक्नु थियो । बोकेँ ।

फेसबुकमा टेक्स्ट स्टोरी हालेकी रहेछे – सन्ध्याले ।
” प्रेम यस्तो बलिदान हो जहाँ पटक पटक आफ्नै आत्मालाइ बलि चढाइन्छ । ”
एक लभ रियाक्ट हानिदिएँ । ऊ अन्लाईन म रहिछ । कुराकानीको माध्यम त्यही स्टोरी बनाएँ। त्यसैमा रिप्लाइ गरेर ठट्यौली पारामा लेखेँ ,
” तर आत्मा त नित्य , अनादि र सनातन हुन्छ हैन र ! अनि कसरी मर्छ त ? ” , अनि 😊 स्माइल वाला इमोजी ।
मेसेज डेलिभर भयो । लगभग ५ मिनेट पछि उता बाट रिप्लाई आयो ।
” त्यो केवल तार्किक र शास्त्रीय कुरा हो । ”
रिप्लाइ दिन किन अबेर गर्थेँ र म । टाइप गरिहालेँ- ” अनि आत्मा साँच्चै मर्छ त ?”
” उफस् हरेक कुरामा लोजिक खोज्नु जरुरी छ र ! ” , मानौँ ठसक्क परेर भनिरहेकी छ ।
” अनि के खोज्नु त ?”
उता बाट रिप्लाई आएन । केटि मान्छेको जात जनाइहाल्न पर्ने । उसलाई कुरेर बसिँन । अरु साथीहरु सङ्ग गफिन थालेँ । करिब १५ मिनेट पछि जवाफ आयो , ” शब्दहरूको भावमा रमाइलो लिने ” ।
म केटिहरुलाइ गफ लडाउनमा उस्ताद थिइँन । न अनुभवी र न त खप्पिस वा गफाडी । साधारण बातचित बाहेक अरु गर्न आउँथेन मलाई । त्यति मात्रैले कहाँ कसै सङ्ग नजिकिन सकिन्छ र । दह्रो गफ लडाउन सक्नु पर्छ , फेसबुकमा । जुन खुबी म सङ्ग खासै थिएन ।
मलाई ऊ सङ्ग कोरा सैद्धान्तिक बहस मात्र गर्नु थिएन । त्यो त केवल अन्जानको ढोका उघारेर चिन्जान गर्नको लागि मात्र थियो ।
केही बेर पछि पुनः इङलिसमा मेसेज गरेँं , ” क्यान उइ इन्ट्रोड्युस् ? ” अनि 😊 इमोजी ।
फेरि पनि भाउ खोजी । अन्लाईन भएता पनि रिप्लाई आएन । केटि मान्छेहरु सबै एकै हुने । हरेक मोडमा एटिट्युड् देखाउनु पर्ने ।
खेर् मलाई एक जनाकै लागि व्यग्र भएर बस्नु थिएन । बाहिर तिर निस्किएँ । अहिले झरी पनि रोकिसकेको थियो । प्रदिपेको मोबाइल अफ रहेछ । उसको घर तिर जान चाहिन । बाटोमा जुका लाग्ने डर हुन्थ्यो । आज एक्लै निस्किएँ । कसैको घर जान मन लागेन । धेरै पछि गाउँ आएकाले पुरै न्यास्रो मेटिसकेको पनि थिएन ।
तर सन्ध्याकालिन असारको चिसो सिरेटोले मलाई बाहिर धेरैबेर घुम्न दिएन । आखिर उडाएर ल्याएर ओछ्यानमै पछार्यो ।