एजेन्सी ,बेइजिङ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।अन्नपूर्ण पोस्टमा खबर छ।

चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको हो । चिनियाँ मिडियाका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको जानकारी दिए ।

यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोप बारे हालै जानकारी गराएको बताएका  थिए । यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लूएचओमा दर्ता गरिसकेको छ । जुन पश्चिमा देशका विज्ञहरुले थुप्रै आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् ।