ललितपुर । कोरोना महामारीबीच रथ तान्ने र नतान्ने विषयमा निर्णय नहुँदा स्थानीय र प्रहरीबीच झडप निम्तिएको इतिहास रच्दै यस वर्षका रातो मच्छिन्द्रनाथको रथयात्रा टुंगिएको छ ।

बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको भोटो नदेखाई सोमबार देवतालाई बुङ्मती लगिएको छ । कोरोना महामारीले गर्दा यसपटक परम्परागत भोटो जात्रा सम्पन्न नगरी देवतालाई हिजो सोमबार दिउँसो ३ बजे बुङ्मती लगिएको हो । अध्येयताहरुका अनुसार भोटोजात्रा सम्पन्न नगरी रातो मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको यो पहिलोपटक नै हो ।

अघिपछि रातो मच्छिन्द्रनाथ रथ जावलाखेलमा पुगेको चौथो दिनमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा देवताको बहुमूल्य भोटो देखाउने परम्परा रहेको छ । भोटो नदेखाई देवतालाई लगिएको यसअघि आफूले कहिले थाहा नपाएको नसुनेको अध्येयताहरु बताउँछन् ।

अध्येयताहरुका अनुसार रातो मच्छिन्द्रनाथलाई राजा नरेन्द्रदेवको पालमा भारतको कामरुपकामाक्षाबाट काठमाडौं ल्याइएको थियो । छैटौं शताब्दीदेखि शुरु भएको रथयात्रामा समयक्रमसँगै रातो मच्छिन्द्रनाथको अन्तिम दिन भोटो देखाउने परम्परा जोडिएको अध्येयताहरुको भनाइ रहेको छ । भोटोजात्राको शुरुआतबारे ऐतिहासिक अभिलेख नभए पनि यससँग जोडिएको किंवदन्ती भने जनमानसमा चर्चाको विषय रहेको छ ।

किंवदन्तीअनुसार मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहास्वरुप बहुमूल्य गहना र हीराजडित भोटो पाएको थियो । किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले ।

खोजी गरेर कहींकतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथ भोटो देखाउने जात्रामा एक राक्षसले लगाएको देखेको बताइन्छ । ती किसानले यो भोटो मेरो हो भनेर माग्दा दुई जनाबीच व्यापक विवाद हुन पुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् ।

सो विवाद राजासमक्ष पु¥याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रुपमा दिने सर्तमा ‘यो भोटो कसको हो’ भनी देखाउने जात्रा शुरु गरेको थियो । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको किंवदन्ती रहेको छ ।

मच्छिन्द्रनाथलाई बुङ्मती लगिएसँगै यस वर्षको रथयात्रा सकिएको छ । यसपटक न रथयात्रा भयो भन्न मिल्छ, न भएन नै भन्न मिल्छ। रथयात्राको विषय महिनौं दिन अनिर्णयको बन्दी बनाइएपछि भदौ १८ गते स्थानीयले स्वतःस्र्फूतरुपमा रथ बनाइएको स्थान पुल्चोकबाट रथ करिब २ सय मिटर तानेका थिए । त्यसपछि प्रहरीसँग झडप भएको थियो । भदौ २१ गते सांकेतिकरुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिकरुपमा समापन गरिएको थियो । त्यसैले रथयात्रा भयो भन्न पनि नमिल्ने र भएन भन्न पनि नमिल्ने अवस्था आएको हो ।

रथ पुल्चोकबाट तानेर गाबहाल, मंगलबजार, सुन्धारा, चक्रबहिल, हँुदै लगनखेलको थति टोलमा राख्ने परम्परा रहेको छ । जावलाखेलको रथ लगनखेलको थतिबाट जावलाखेल पु¥याइएको चार दिनपछि भोटो देखाउने परम्परा रहेको छ । कोरोना महामारीको कारण यस वर्ष यो भोटो जात्रासँगै रथयात्रा र त्यससँग जोडिएका अनेक अर्मूत संस्कृति र परम्परा सम्पन्न हुन सकेन ।

कोरोनालाई बिर्सिंदै सयौं भक्तजन
यसैबीच रातो मच्छिन्द्रनाथलाई बुङ्मती लग्दा भैंसेपाटी, खोकना दोबाटोदेखि बुङ्मतीसम्म सयौं भक्तजन हातमा छ्वाली बालेर स्वागत गर्न बसेका थिए । कोरोना महामारीको पर्वाह नगरी मच्छिन्द्रनाथ खटमा राखेर लाने क्रममा अघिपछि सयौं मानिसहरु जम्मा भएका थिए ।

रातो मच्छिन्द्रनाथलाई नख्खु हुँदै बुङ्मतीमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरु बालेर देवतालाई बाटो देखाउने गरिन्छ । खटमा राखिएको रातो मच्छिन्द्रनाथ सँगसँगै अगाडि अगाडि छ्वाली जलाएर बुङ्मतीसम्म लगिन्छ । बाटो छेउमा बस्ने युवायुवती, वृद्धवृद्धाले पनि छ्वाली जलाएर स्वागत गर्छन् । अँध्यारो नहुँदै देखिने त्यो दृश्य मसाल जुलुसको दृश्य जस्तो देखिन्थ्यो ।

यसलाई नेपाल भाषामा ‘सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु’ भनिन्छ । यसको अर्थ ‘सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने’ हुन्छ ।

पानेजु (रातो मच्छिन्द्रनाथका पुजारी) कपिलमुनि वज्राचार्यका अनुसार पहिला बत्ती नभएको बेला रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ल्याउँदा छ्वाली बालेर लिन जाने गरिन्थ्यो । त्यो परम्परा हालसम्म पनि निरन्तर चलिरहेको छ ।
वज्राचार्यका अनुसार पहिला त भक्तपुरबाट दीप बोकेर मानिसहरु देवतालाई बाटो देखाउन आउँथे । अहिले भने त्यो परम्परा नरहेको उहाँले बताउनुभयो ।

देवतालाई बुङ्मती लगिएसँगै पुल्चोकमा अवस्थित रातो मच्छिन्द्रनाथको ५ सय मिटर वरपर जिल्ला प्रशासन कार्यालय ललितपुरले भदौ २० गते लगाइएको निषेधित क्षेत्र हटाएको छ । निषेधित क्षेत्रका कारण देवताको दर्शन गर्न नपाएकाले पनि बुङ्मतीमा यसपटक भक्तजनको अघिपछि भन्दा निकै घुइँचो देखिन्थ्यो ।

यसैबीच कडा सुरक्षाको घेराबीच मिमनाथलाई पुल्चोकबाट तानेर टंगल पु¥याइएको नेपाल समाचारपत्रमा खबर छ।