काठमाडौँ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।गोरखापत्रमा खबर छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो । सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठ्कमा पेस गरेको थियो ।
सरकारको यसअघिको निर्णयबाट असोज १ गतेसम्म लामो दूरीको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो । असोज १ गतेबाटै सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ हुन सक्ने भएकाले असोज ५ गतेबाट यातायात सञ्चालन गर्ने गरी प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले पनि सुरक्षाका उपाय अपनाएर लामो दूरीका यातायात सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिएको थियो । सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।
यातायात व्यवसायीले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुला गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले यातायात खोल्नुको विकल्प नरहेको र सुरक्षा अपनाएर यातायात सञ्चालन गर्न व्यवसायी तयारी अवस्थामा
रहेको बताउनुभयो ।
सरकारले कोरोना परीक्षणको शुल्क घटाएर दुई हजार रुपियाँ बनाएपछि सार्वजनिक यातायात सञ्चालनमा अझ सहज भएको महासङ्घको दाबी छ । यात्रा गर्नुअघि यात्रुले दुई हजार रुपियाँमा कोरोना परीक्षण गरेर पीसीआरको रिपोर्ट हेरेर गाडीमा चढाउने व्यवस्था गर्दा पनि हुने व्यवसायीको भनाइ छ । त्यसो गर्दा गाडीमा सिट खाली राख्न पनि नपर्ने र भाडा पनि सस्तो पर्ने बताइएको छ । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, “झ्याल खोलेर चलाउने हो प्लेन जस्तो होइन, अहिले निजी गाडीले १५÷२० हजार लिएर यात्रु ठगेका छन्, सेनिटाइजर, मास्कको व्यवस्था हामी गर्छौं सुरक्षा अपनाएर चलाउने हो ।”
यातायात सञ्चालनका लागि राजनीतिक दलका नेता तथा मन्त्रालयमा व्यवसायीले दबाब दिँदै आएका थिए । गत चैत ११ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द थियो ।