काठमाडौं । नेपालमा तेजाब आक्रमणविरुद्ध कडा कानुन बन्ने भएपछि भारतीय चर्चित अभिनेता अमिताभ बच्चन पनि खुशी भएका छन् ।नेपालमा कडा कानुन बन्न लागेको थाहा पाएपछि उनले ट्वीट गर्दै नेपालमा तेजाब आक्रमणविरुद्ध कडा कानुन बन्न लागेको थाहा पाउँदा अत्यन्त खुशी लागेकाे बताएका छन् ।

तेजाब आक्रमणविरुद्धका अभियन्ता उज्वल विक्रम थापालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तेजाब आक्रमणमा परेका पीडितहरुको पक्षमा गरेको कडा मेहनतको परिणाम देखिएको छ ।’

अमिताभ बच्चन र थापा भारतको चर्चित सेरहुड कलेजमा पढेका हुन् । उनले शेरहुड कलेजले मात्र नभएर सिंगो नेपालले अहिले गौरव गरेको बताएका छन् ।

तेजाब आक्रमणविरुद्धको अभियानमा सफलता पाउँदै गरेको थाहा पाएपछि उनले शुभकामना समेत दिएका छन् ।

भदौ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तेजाब आक्रमण पीडितहरुलाई भेटेर गुनासा र माग सुनेका थिए । सो भेटघाटपछि प्रधानमन्त्री ओलीले तत्काल कडा कानुन बनाउन निर्देशन दिएका थिए ।

तेजाब आक्रमण गर्नेलाई कम्तिमा २० वर्ष जेल सजायको व्यवस्था गर्ने गरी कानुन बन्दै गरेपछि तेजाब आक्रमणविरुद्ध सक्रिय अभियन्ताहरु खुशी भएका छन्।