लभ स्टेसन – part २
करिब २ बर्ष अगाडि,
लामो समय पछि पढाईको बोझ र इक्ज्यामको झमेलाबाट बल्ल छुट्टि मिलेको थियो । भन्न त विज्ञानको विद्यार्थी भए पनि साहित्य प्रती गहिरै झुकाव थियो मेरो । खाली कापिका पाना देख्ने बित्तिकै केही कोरिहाल्न मन लाग्ने । कविताको केसमा छन्दवादी सिद्धान्तले घेरिएको भएर होला , गद्य कविता तिर ध्यानै जाँदैन थियो । लेख्न भने उल्कै गाह्रो ।
ल्यापटपमा नयाँ छन्दको अभ्यास गरिरहेको थिएँ । फेसबुकमा नोटिफिकेसनको आवाज आयो । कोहि केटिको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ ।
रिक्वेस्ट पठाउनेको नाम लेखिएको थियो : सन्ध्या भण्डारी
अलि अचम्ममा परेँ । नचिनेको केटिको फ्रेन्ड रिक्वेस्ट सायद पहिलो पटक आएको थियो मलाई । नत्र आफैंले पठाउनु पर्थ्यो ।
हुन त फेसबुक भनेको यस्तो ठाउँ हो जहाँ नचिनेको मान्छेलाई नि फ्रेन्ड नै भन्नू पर्छ । दुश्मनको रिक्वेस्ट आए पनि त्यो फ्रेन्ड रिक्वेस्ट नै हुन्छ । एउटै व्यक्तिलाई दुई वटा नाता लगाइदिन्छ, फेसबुकले । जस्तै दुश्मनलाई नंया नाता जोडेर साथी बनाइदिन्छ । मेरो लागि एउटै व्यक्तिमा दुई वटा नाता पर्ने त केवल मेरि आमा मात्र थिइन् , आमा पनि र साथी पनि ।
जे होस् अहिले त्यि कुराहरुको मतलब थिएन मलाई । मतलब थियो त केवल त्यो फ्रेन्ड रिक्वेस्टको । प्रोफाइलमा त बिछट्टै राम्री देखिएकी थिइन् ।
मेरो बायो तिर ध्यान गयो । त्यहाँ लेखिएको थियो , ” एक साहित्य अनुरागी जो संसारलाई नै साहित्य देख्दछ ” । अनि केही इमोजी ।
बल्ल उसको फ्रेन्ड रिक्वेस्ट पठाउनुको तात्पर्य बुझेँ । उसको अनुराग म प्रती नभएर मेरो साहित्य प्रती रहेछ । जे होस् एक्सेप्ट गरिदिएँ ।
*****
ब्याचलरको फाइनल इक्ज्याम सकेर घर आएको २,४ दिन भएको थियो । गाउँमा हाम्रो सानो डेढ तलाको घर थियो अनि घर छेउमा सानो फुलबारी सजाइएको । सहरमा जस्तो कामको चटारो र पढाईको व्यस्तताले नघेरे पछि गाँउको दैनिकी सामन्य हुन्थ्यो । दिनभरी प्राय घर तिरै हुन्थेँ । बेलुका बेलुका भए पछि प्रदिप सङ्ग हावा खान बाहिर निस्कन्थेँ । बागेश्वरी डाँडातिरको हावा नै मीठो लाग्ने । यहि ठाउँको हावा खाएर हुर्किएकाले होला , यहाँका सबै कुरा मीठो लाग्थे ।
पारी पट्टि देखिने हरिया डाँडा , टाढा देखिएको सुरम्य हिमाल , पहाडी लालीगुँरास र त्यहाँ चल्ने मनमोहक हावाले अत्यन्तै लोभ्याउने गर्थ्यो मलाई ।
यहाँको प्रकृति र मेरो बिचमा शैशवकाल देखिनै गहिरो सम्बन्ध छ जस्तो लाग्थ्यो । यहीँ ठाउँको सौरभित र रमणीय वातावरणले मलाई बाल्यकाल देखि नै लोभ्यायो । यहाँको सरसिलो प्रकृतिले मेरो अन्त:करणलाई बारम्बार घक्घचाइरह्यो । कल्पनाको तालमा डुब्न बाध्य गरायो । यहाँ रम्दा रम्दै भावनाको पँधेरो कल्कलायो । प्रकृति प्रती हृदय भित्र गुम्सिएको अनुराग सल्बलायो र सानै उमेरमा म भित्र एक साहित्यकारको चक्षु उदायो ।
बाल्यकालमा पनि, यो मोराले स्कुलको किताब फिटिक्कै हेर्दैन भनेर आमाले कराउँदा कराउँदै होस् वा वन पाखाको हरियालीमा बाख्रा चराउँदा चराउँदै होस् मेरा हातमा कापी र कलम टुटेन । सिर्जनात्मक लेखनको काउकुती लागेको थियो मलाइ । आए पनि नआए पनि केही न केही पानामा कुँदिरहन्थेँ ।
*****
गाउँमा ईन्टरनेटको समस्या थियो । कहिलेकाहीं डाटा लिएरै भए पनि फेसबुकका भित्ता तिर केही न केही नंया पोस्टाइरहन्थेँ ।
एक दिन , न चिनजान न त कुनै मित्रता , त्यही पनि मेरा केही साहित्यिक पोस्टमा कमेन्ट गरेको रहेछिन् , उही – सन्ध्या भण्डारीले
म खुसि थिएँ किनकि इन्बक्समा गएर कुराकानी गर्ने आधार पाएको थिएँ मैले । मात्र एक महत्वपूर्ण अबसरको खाँचो छ जस्तो लाग्यो ।
………………बाकी अर्को भागमा