बिर्तामोड । उत्तम कृषि, मध्यम व्यापार र तुच्छ नोकरी भन्ने पुरानो कथनलाई यहाँस्थित युवाले सत्य सावित गरिदिनुभएको छ । कोरोनाबाट व्यापार व्यावसाय र नोकरीबाट समेत मानिस टाट पल्टिरहेको बेला झापा अर्जुनधारा नगरपालिका ९ शनिश्चरेको युवा कमल कड्रिया भने बोयर जातको बाख्रा पालनबाट जिल्लामै नाम र दाम दुबै कमाउन सफल हुनुभएको छ ।

उहाँ विगत ४ बर्षदेखि उन्नत जातको बाख्रापालन गरि पाठापाठी बिक्री गर्दै आउँनुभएको छ । १० वटा ५० प्रतिशतका बोयर जातका बाख्रा र एउटा एक सय प्रतिशतको बोयर बोकाबाट उन्नत बाख्रा पालन सुरू गर्नुभएका कडरियाले व्यवसाय बढाउँदै ५० लाख बढीको उन्नत बाख्रा फर्म निर्माण गर्नुभएको हो ।

उहाँका उमेरका अधिकाम्स युवा विदेशमा रोजगारीमा रहनुभएको छ, तर । कड्रिया भने आाफै ४ जना युवालाई बाख्रा फर्ममा रोजगारी समेत दिन सफल हुनुभएको छ । सुरुमा आफुले यो व्यावसाय सुरु गर्दा आफन्त तथा साथीभाइले समेत उभो नलाग्ने व्यवसाय भनेर निरुत्साहित गर्ने गरेको बताउने कड्रिया अहिले भने सबैले आफ्नो तारिफ गर्ने गरेको अनुभव छ ।

आर.के एग्रीकल्चर नाम दिएर स्वरोजगार बनिरहनुभएका कमल परम्परागत शैलीभन्दा केही भिन्न विधि अपनाएर उन्नत बाख्रा पालन गरिरहनुभएको छ । उहाँले घाँस र दाना दुवैमा आधारित बाख्रा पालन गर्नुभएको छ । हाल उहाँको फार्ममा ६५ प्रतिशत ७५ प्रतिशत, ८७ प्रतिशत र शत प्रतिशत गरी ४ किसिमका उन्नत बोयर जातका ६० वटा बाख्रा रहेका छन ।

राज्यबाट कुनै साथ र सहयोग नपाएको कडरियाको फरमबाट उत्पादित पाठापाठीको प्रतिशतका आधारमा मूल्य समेत तोकिएको छ । जस अनुसार ५० प्रतिशतका बोकाको प्रति केजी १५ सय, पाठी १२ सय, ७५ प्रतिशतका लागि बोकाको २५ सय, पाठीको २ हजार, ८७ प्रतिशतका लागि बोकाको ३५ सय, पाठीको २५ सय मूल्य तोकेर बिक्री गर्ने गर्नुभएको छ ।

उहाँको फार्मको बाख्रा एक बर्ष पहिलेदेखिनै बुक हुने गरेको छ । झापाका तथा छिमेकी जिल्लाका स्थानीय सरकार र संघ संथाबाट पाठापाठीको अर्डर आउने गरेको कड्रिया बताउँनुहुन्छ । खर्च कटाएर हाल मासिक २ लाख सम्म कमाइ हुने गरेको बताउँनुहुने कड्रिया हाल पाठापाठीमात्रै बिक्री गर्दै गर्नुभएकोमा उत्पादन बढाएर बोयर जातको खसीको मासु समेत बिक्री गर्ने योजनामा रहनुभएको छ । हाल राज्यबाट अनुदान र सहुलियत पहुचवालाले मात्रै लिदै आइरहेको तितो अनुभव सुनाउदै उहाँ भन्नुहुन्छ, कृषक नेता हैन सच्चा कृषकले अनुदान पाउने हो भने हामी अवको केहि महिनामै मासुमा आत्मनिर्भर बन्ने छौ ।गोरखापत्र अनलाइनबाट